उपनिर्वाचन कास्की : ६४ प्रतिशत मत खस्यो‚ आजै रातिदेखि गणना हुने

पोखरा । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ । कास्की क्षेत्र नम्बर २ का लागि ८२ वटा मतदान केन्द्रमा भएको निर्वाचनमा ६३.४८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए । मतदान सम्पन्न भइसकेपछि मतपेटिका मतगणनास्थलमा ल्याउने काम शुरु भइसकेको छ । शहीद चोकस्थित जिल्ला समन्वय समितिको सभाभवनमा सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि शनिबार राति १० बजेदेखि मतगणना शुरु हुने सहायक मतदान अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए । सबै मतपेटिका प्राप्त हुनासाथ सर्वदलीय बैठक आह्वान गरी मतगणना शुरु गरिने उनले बताए । मतगणनास्थलको सुरक्षाका लागि दुई वटा सिसी क्यामेरा जडान गरिएको छ भने बाहिरबाट तार जालीले घेरिएको छ । उम्मेदवारको प्रतिनिधिले गणनामा कुनै पनि बाधा अवरोध पुर्याउन नपाउन् र गैरकानूनी कार्य रोक्नका लागि तारबार लगाइएको बताइएको छ । दुई स्थानबाट गणना शुरु गर्ने योजना रहेको बताइएको छ । दलको तर्फबाट उम्मेदवार बनेकाका दुईजना र स्वतन्त्र उम्मेदवारका एक जना प्रतिनिधि मात्र गणनास्थलमा रहन पाउने व्यवस्था गरिएको छ । उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।