कोरोनाले रोजगारी गुमाएका युवाका लागि राहत बन्यो रोजगार

सल्यान, असार । बेरोजगारीको मारमा परेका युवाहरुका लागि प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम राहत भएको छ। कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएका युवाहरुका लागि उक्त दुई कार्यक्रमले राहतको काम गरेको छ। विपन्न वर्गरसमुदाय, बेरोजगार युवा, महिला, दलित, आदिवासीरजनजातिलगायत लक्षित वर्गलाई समावेशिताको आधारमा काम गर्ने पाउने उद्देश्यका साथ दुई कार्यक्रम सञ्चालन भइरहेको सामाजिक विकास कार्यालय सल्यानले जनाएको छ।
वनगाड कुपिण्डे नगरपालिकामा मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ८६० जनाले रोजगारी पाएको नगरपालिका रोजगार संयोजक भिम पुनले बताउनुभयो। बेरोजगार र कोरोनाका कारण थप मारमा परेकालाई रोजगारी सिर्जना भएको उहाँको भनाइ छ। ‘कार्यक्रमले कोरोनाले रोजगार गुमेकालाई राहत मिलेको छ,’ पुनले भन्नुभयो, ‘प्रधानन्त्रीमन्त्री रोजगार कार्यक्रममा ७२ लाख र मुख्यमन्त्री रोजगार कार्यक्रममा ६४ लाख बजेट नगरपालिकामा आएको छ।’
सडक मर्मत, कुलो निर्माण, विद्यालयका फिल्ड निर्माणजस्ता कार्यमा युवाहरु लागेको दार्मा गाउँपालिका सल्यानले जनाएको छ। लकडाउनका क्रममा रोजगारी गुमाएका तथा बेरोजगार ९७७ जनाले रोजगारी पाइरहेको दार्मा गाउँपालिका रोजगार संयोजक किरण गौतमले जानकारी दिनुभयो। प्रधानमन्त्री रोजगार कार्यक्रममा सातवटा योजना र मुख्यमन्त्री रोजगार कार्यक्रममा तीनवटा योजना सञ्चालन भइरहेको उहाँले बताउनुभयो।
उक्त योजनामा दक्ष कामदारले दैनिक ९०० र अदक्ष कामदारले ६०० रुपैयाँका दरले पारिश्रमिक पाउने गौतमले जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा कुमाख गाउँपालिकालाई ससर्त अनुदानतर्फ ७६ लाख रुपैयाँ बजेट प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उपलब्ध भएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले जानकारी दिनुभयो।
त्यस रकमले कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी दिलाइएको उहाँको भनाइ छ। बजेटको ७५ प्रतिशत पारिश्रमिकमा जाने र बाँकी रकम औजार खरिद, निर्माण सामग्री र सुरक्षा उपकरणमा खर्च गरिने कुमाख गाउँपालिका रोजगार संयोजक वसन्तकुमार पुनले बताउनुभयो। थाहा खबर बाट ।