add frist

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत प्राप्त गर्न असफल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले प्रदेशसभामा विश्वासको मत गुमाउनुभएको छ ।

आज बिहीबार भएको मतदानमा उहाँको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको छ। एक जना सांसद भने तटस्थ बसेका छन्। प्रदेश सभा बैठकमा ५८ जना सांसद उपस्थित थिए भने १ जना सांसद अनुपस्थित थिए । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुराउन ३१ मतको आवश्यक पर्दछ।

प्रदेश सभामा नेकपा एमालेका २७ जना सांसद रहेका छन् । मुख्यमन्त्रीले आफ्नो पार्टीबाट मात्र मत पाउनुभएको हो । अदालतबाट पद थमौती भएका जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्नुभएको छ । गुरुङ नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री प्रदेश सभामा उपस्थित हुनुभएन। उहाँले हिजो राति नै मुख्यमन्त्रीको पक्षमा नरहेको स्पष्ट पार्नुभएको थियो । विपक्षमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११ , जसपाका २ र जनमोर्चाका २ सांसदले मतदान गरेका छन् ।

संविधानको धारा १६८९३० अनुसार पुनः मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आज प्रदेशसभामा विश्वासको मत माग्नुभएको थियो । प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले बैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका नेकपा एमालेका संसदीय दलका नेता गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिनका लागि जेठ २५ गते प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो।

यसअघि वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजिनामापछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकोमा दलहरूले बहुमत प्रदेश सांसदहरुको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न सकेका थिएनन् ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत गुमाएसंगै अब प्रदेश प्रमुखबाट संविधानको धारा १६८ ९५० अनुसार सरकार गठनको आह्वान हुनेछ ।

यस अघि पनि विपक्षमा रहेका दलको गठबन्धनबाट संविधानको धारा १६८९३० अनुसार मुख्यमन्त्री नियुक्तमा प्रस्ताव गरिएका नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले ३१ सांसद पुर्याउन सकेको खण्डमा धारा १६८ ९५० अनुसार पोखरेल मुख्यमन्त्रीमा प्रस्ताव हुनेछन् । संवैधानिक व्यवस्था अनुसार यसरी गठन हुने सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

यो प्रयास असफल भएमा संविधानको धारा १६८ ९७० अनुसार प्रदेशसभाको चुनाव घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु