ग्रिल तथा स्टिल व्यवसायी संघ रुपन्देहीको आठौं साधारणसभा सम्पन्न

बुटवल,पुस । ग्रिल तथा स्टिल ग्रिल तथा स्टिल व्यवसायी संघ रुपन्देहीको आठौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाले सामान्य तालिमको भरमा दुई हजार भन्दा बढी कर लिएर प्रमाणपत्र दिएर झोले व्यवसाय गर्न प्रोत्साहन गरेर लाखौं रुपैयां लगानी गरेका ग्रील तथा स्टील व्यवसायीलाई संकटमा पारेको गुनासो गरे । उनीहरुले उपमहानगरले यस्तो व्यवसायीमारा नीति बन्द गर्न समेत माग गरेका छन् ।
कार्यक्रममा बोल्दै ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले राज्यले नीतिगत भ्रष्टाचार गरेर नेपालमै तयार हुने फलामजन्य सामानको २५ प्रतिशत विदेशबाट आयात गरिरहेको बताउनुभयो ।
उहाले ग्रील व्यवसायमा २० हजार जनालाई रोजगारीको अवसर रहेको तर सरकारको नीति युवाहरुलाई विदेश पलायन गर्ने रहेका कारण कामदारको अभाव भएको गुनासो गर्नुभयो ।
संघका संस्थापक अधयक्ष अशोक वर्माले ग्रील तथा स्टील व्यवसायलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न छुट्टै ग्रिल जोन बनाउनुपर्ने माग गर्नुभयो । संघको पांचौं अधिवेशनले नयां नेतृत्व चयन गर्नेछ ।
संघका जिल्ला अध्यक्ष नारायण पाठकले सरकारले लागु गर्न खोजेको भीसीटीएस ग्रील तथा स्टिल जस्ता साना व्यवसायीका हकमा लागु नगर्न र झोले व्यवसायीलाई नियन्त्रण गर्न माग गर्नुभयो ।
कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष रनबहादुर विश्वकर्मा,पोखरा स्टिल फेब्रिकेसनका अध्यक्ष ऋषि गिरी,संघका जिल्ला सल्लाहकार भुवन ज्ञवाली,तृतीय उपाध्यक्ष शयाम केसी,सचिव रामचन्द्र गौतम लगायतले बोलेका थिए ।