छाउगोठमा महिलाको मृत्यु,प्रहरीले परिवारका सदस्यलाई पक्रिने

काठमाडौं, मंसिर । अछाम साँफेबगर-३ की २१ वर्षीया पार्वती रावतको छाउगोठमा आइतबार राति मृत्यु भएको भयो। सासु-ससुरा र श्रीमान् घरमा नभएको बेला जेठाजु छत्र रावतले पार्वतीलाई छाउगोठ पठाएका थिए। चिसोमा छाउगोठमा बस्दा उनको मृत्युपछि पनि प्रहरीले कुनै कारबाही अगाडि बढाएको थिएन।
मुलुकी अपराध संहिताले सुत्केरी वा महिनावारी भएका महिलालाई छुवाछुत गर्न रोक लगाएको छ। अपराध संहिताको धारा १६८ को ३ बमोजिम छुवाछुत गर्ने र गराउने दुबैलाई कानुनी कारबाहीको व्यवस्था छ ।तर, प्रहरीले यस्तो घटनामा कारबाही नगरेको पाइएपछि बिहीबार महान्यायाधीवक्ता अग्नि खरेलले प्रहरीलाई निर्देशन नै दिनुपरेको छ।
‘कानुनी कारबाही रहेको अवस्थामा मान्छे मरिसक्दा पनि केही नभएको जानकारी पाउनासाथ मैले प्रहरीलाई निर्देशन दिएको हुँ,’ खरेलले भने। महान्यायाधीवक्ता खरेलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खरेललाई फोन गरी कारबाही गर्न निर्देशन दिएको केहीबेरमै मृतकका जेठाजु छत्र पक्राउ परेका छन्।
‘मुलुकी अपराध संहितामा कारबाही हुने व्यवस्था रहेकोले पक्राउ गरिएको हो,’ अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले भने। अपराध संहिताअनुसार कसैले पनि सुत्केरी वा महिनावारी भएकी महिलालाई छुवाछुत गर्न वा छाउगोठमा राख्न पाइँदैन। यस्तो गरिएमा गर्ने र गराउने दुबैलाई तीन महिनासम्मको सजाय हुने व्यवस्था छ। सोही कानुनी व्यवस्था आकर्षित गरेर प्रहरीले कारबाही गर्न सक्छ।
‘मान्छे मरिसक्दा पनि कारबाही नहुने भनेको चाहिँ आपराधिकरण नै भयो, कानुन हुँदाहुँदै कार्यान्वयन नहुनु बिडम्बना भयो,’ खरेलले भने। खरेलले छाउप्रथामाथि कारबाही गर्न प्रहरीलाई निर्देशन आवश्यक नरहेको बताए। ‘कानुनले कारबाही गर्न भनेको छ, प्रहरीले कानुन कार्यान्वयन गर्न निर्देशन पर्खिनु पर्दैन,’ उनले भने।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले छाउप्रथा उन्मुलनमा कारबाही गर्न अफ्ठेरो नभएको बताए। तर, घटना प्रहरीसम्म नआउने, जानकारी नै नदिने अवस्थामा कारबाही नभएको हुनसक्ने उनले बताए।
‘यो घटना बाहिर आयो। प्रहरीले मान्छे पक्राउ गरिसकेको छ। जानकारीमा आएलगत्तै प्रहरीले छाउमा निर्मम भएर कारबाही गर्छ,’ उनले भने। (सेतोपाटी)