जीप दुर्घटनामा पत्रकार अधिकारीको मृत्यु

बुटवल, साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप सप्तरीमा दुर्घटना हुँदा बुटवलका पत्रकार डायलशन अधिकारीको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन् । त्यस्तै उनी ईलगन मिडियाका सञ्चालक समेत हुन । हेटौडाबाट पूर्वतर्फ जाँदै गरेको बा १६च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका प्रहरी असई सचितानन्द यादवले बताए । दुर्घटनामा परी तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, वडा अध्यक्षहरु सोहन चौधरी,तामनाथ पाण्डे र चालक अशोक भण्डारी घाईते भएका छन् । तिलोत्तमा नगरपालिकाले आगामि असोजमा गर्न लागेको लगानि सम्मेलनको प्रचार प्रसारकालागि पूर्बी जिल्लाको भ्रमणमा गएको टोलीको गाडी दुर्घटनामा परेको हो ।