तिन दिने पत्रकारीता तालीम सम्पन्न
भैरहवा जेठ | लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भैरहवामा तीन दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । विगतका वर्ष देखि नै क्लबमा आबद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्दै आएको र यस वर्ष पनि तालिमलाई निरन्तरता दिएको कार्यक्रम संयोजक पुनहरि बेल्बासेले बताए ।
तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले नगरवासीलाई सुसुचित गर्ने काममा मिडिया क्षेत्र सक्रियताका साथ लाग्नुपर्ने बताए । उनले मिडिया क्षेत्रको विकासको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले पत्रकारितासंगै क्लबले सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको बताए । उनले क्लबको अगुवाइमा जनचेतनामूलक सरसफाई अभियानको थालनी गरिएको जानकारी दिए । त्यस्तै प्रदेश नं(५ वन निर्देशनालयका निर्देशक बलिराम पण्डितले चुरे क्षेत्रको संरक्षणको लागि सञ्चारमाध्यमले कलम चलाउनुपर्ने बताए । उनले प्रत्येक स्थानीय तहले गाउँगाउँमा नर्सरीको अवधारणा ल्याएर वातावरण संरक्षणमा टेवा र्पुयाउनुपर्ने बताए ।
तालिमका सहभागिहरुको तर्फबाट लुम्बिनी प्रेस क्लबका सल्लाहकार नारायण प्रसाद सापकोटा, कार्यसमिति सदस्य पशुपति यादव र तालिम समिति सदस्य शशि पन्थीले क्लबको आयोजनामा सञ्चालित पत्रकारिता तालिमले अनुभव बटुल्न सहयोग गरेको र आगामी दिनमा पनि यस्ता खालका क्षमता अभिवृद्धि तालिम आयोजना गर्नुपर्ने बताए । क्लबका महासचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबमा आबद्ध दुई दर्जन बढी पत्रकारको सहभागिता रहेको तालिममा रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधिश नरिश्वर भण्डारी र प्रदेश नं ५ वन निर्देशनालयका निर्देशक बलिराम पण्डितले सहजीकरण गरेका थिए ।