तेस्रोलिङ्गीको अधिकारका लागि आयोगले सक्रियता बढाउने

२० जेठ, बुटवल । राष्ट्रिय मानव अधिकार आयोगले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि आफ्नो सक्रियता बढाउने भएको छ । मानव भएरपनि समाज तथा घरपरिवारबाट अपहेलनाको शिकार हुने गरेको पछाडि परेका समुदायिका अधिकारका लागि आयोगले प्रतिवेदन तयार पार्ने र अधिकारका लागि सरकारको ध्यानाकर्षण गराउने बताएको छ । आयोगले सोमबार बुटवलमा गरेको यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार विषयक अन्तक्र्रिया कार्यक्रममा अयोगका सदस्य प्रकाश वस्तीले पछाडि परेका वर्ग र समुदायको अधिकारका लागि आफु रहुन्जेल लडि रहने प्रतिवद्धता जनाए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका सवाललाई समेटिएको खाका तयार पारेर आउने असार मसान्तरसम्म सरकारलाई बुझाउने समेत बताए । तेस्रो लिङ्गी समुदायलाई आफुहरु एक्लै भएका नसोच्न आग्रह गर्दै आयोग सदैव साथमा रहेको आश्वासन दिए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकसँगै पछाडी परेका वर्ग तथा समुदायलाई कठै, विचरा जस्ता दयाको पात्र नबनाउन सुझाव समेत दिए । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का निर्देशक सम्झना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डिपी खनाल, इन्सेक प्रतिनिधि रिमा विसि, निल हिरा समाजका अध्यक्ष आनिक राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, तेस्रोलिङ्गी महिला अवान्तिका घर्ति, पुष्पा लामा, रेशम न्यौपाने लगायतले समाजले अझैपनि तेस्रोलिङ्गी तथा अल्पसंख्यकका लागि हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले शिक्षा, स्वास्थ्य तथा पैतृक सम्पतिबाट बन्चित हुनु परेको गुनासो सुनाएका थिए । उनीहरुले आफुहरुलाई अन्यको पहिचान दिन घरपरिवार, समाज र राज्य कुनै कुरामा चुक्न नहुने आग्रह गरेका थिए ।