बाँकेमा निषेधाज्ञाको समयावधि थप, आजदेखि नेपालगन्ज सिल

बाँके, साउन । बाँकेमा गत आइतवारदेखि लगाइएको निषेधाज्ञाको समयावधि थपिएको गरिएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा द्रुत गतिमा बढ्दै जान थालेपछि शनिवारसम्म जारी गरिएको निषेधाज्ञाको समय आगामी मंगलवार रातीसम्म थपिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै कोरोना संक्रमित बढ्दै गएको र शुक्रवार मात्र बाँकेमा ४९ जना संक्रमित थपिएको हुँदा आगामी मंगलवार राती १२ बजे सम्मकालागि निषेधाज्ञाको समय थपिएको जानकारी दिनुभयो ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिकाको चारै किल्ला शनिबारदेखी सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्रका रुपमा नेपालगन्जलाई सिल गरेको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले श्राउन २४ गते राती १२ बजेदेखी श्रावण २७ गते राती १२ बजेसम्मका लागि नेपालगन्जका उपमहानगरका चारै किल्ला सिल गर्ने निर्णय गरेको हो । यस अवधिमा नेपालगन्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाईएको छ । साथै हिडडुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरीएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
प्रशासन कार्यालयका अनुसार नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखी गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्ण रुपमा सिल गरिएको हो ।