मुख्यमन्त्री गुरुङको राजिनामा स्वीकृत, ३ दिनभित्र सरकार गठन गर्न दलहरुलाई आव्हान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पदबाट दिएको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमूख सीता कुमारी पौडैलले तीन दिन भित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले नेता तथा मुख्यमन्त्री गुरुङले आज पदबाट राजिनामा दिनुभएको हो । गण्डकी प्रदेश प्रमूखको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनको आव्हान गरिएको छ ।
मुख्यमन्त्री गुरुङले नेपालको सविधानको धारा १६९को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमूखसमक्ष राजिनामा दिनुभएको हो ।
प्रदेशमा अर्काे मन्त्रीपरिषद गठन नभएसम्म नेपालको संविधान को धारा १६९ को उपधारा (३) बमोजिम गुरुङको नेतृत्वको मन्त्रीपरिषदले कार्य संचालन गर्ने प्रदेश प्रमूखको कार्यालयले आज जारी गरेकाे विज्ञप्तिमा जनाएको छ ।