मुल घरमा फर्किनुस्, अझै पनि स्थान खाली छ: विष्णु पौडेल

बुटवल, पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड-माधव नेपाल समूहले सत्ता र शक्तिको लागि गतल बाटो रोजेको बताएका छन्।
ओली समुहको नेकपा रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले महाधिवेशनबाट शक्तिशाली पार्टीको एकल अध्यक्ष बन्ने अवसर लत्याएर प्रधानमन्त्री र एकल अध्यक्ष बन्न गलत बाटो रोजेको बताएका हुन्।
प्रचण्ड नेपाल समूहले तय गरेको बाटोबाट कहिल्यै प्रधानमन्त्री र शक्तिशाली नेकपाको अध्यक्ष बन्ने सपना पुरा नहुने पौडेको दाबी छ। ‘तपाईहरू अहिले जुन बाटो हिँड्नुभएको छ त्यो बाटोबाट सपना र चाहना पुरा हुन सक्दैन, मुल घरमा फर्किनुस्, अझै पनि स्थान खाली छ,’ उनले भने।
शक्तिशाली कम्युनिष्ट पार्टीको वरिष्ठ नेता रहेका माधव नेपाल-प्रचण्ड समूहको दुई नम्बरको अध्यक्ष बनेको भन्दै पौडेलले दुई नम्बरको अध्यक्ष बन्न शक्तिशाली पार्टी विभाजन गरेको आरोप लगाए।
‘दुई नम्बरको अध्यक्ष बन्न किन हतारो गर्नुभयो, तपाईँहरूले प्रधानमन्त्री ओलीमाथि लगाईका आरोप फिर्ता लिँदै भुल र कमजोरीलाई स्वीकार गरेर मुल घरमा फर्किनुहोस्, हामी तपाईँहरूको स्थान खाली राखेका छौं,’ उनले भने ।
नेता पौडेलले नेकपाको मुलधार प्रथम अध्यक्ष केपी ओली समूह नै रहेको दाबी गर्दै अलमलमा परेर बाहिर रूमल्लिएकालाई ढिला नगरी घर फर्किन आग्रह गरे।
‘पार्टी फुट्यो भनेर चिन्तामा रहेका साथीहरू चिन्ता गरेर बाहिर हिड्ने होईन, घर फर्किएर क्रियाशील भएर पार्टीमा लाग्नुस्,’ उनले भने।
प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीको बाध्यता रहेको भन्दै नेता पौडेलले अहिलेको अवस्था आउनुमा प्रचण्डले लगाएको संगीन आरोपको प्रतिफल रहेको बताए।
प्रचण्ड(नेपाल समूहले नेपाली कम्युनिष्ट आन्दोलनलाई नराम्रो दुर्घटनातर्फ धकेल्न खोजेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीको अगाडि संविधान र लोकतन्त्रको रक्षाको लागि संसद विघटन गरेर जनादेशमा जानुबाहेक अर्को विकल्प नभएको बताए।
‘संसद विघटनको निर्णय गर्दा प्रधानमन्त्रीको अनुहारमा चिन्ता देखिन्थ्यो, प्रतिनिधिसभा जोगाउनको लागि अन्तिम क्षणसम्म पनि लागिरहनुभएको थियो, तर सफल हुन सकेन’, उनले भने।
पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्वतन्त्र न्यायपालिकाप्रति विश्वास गर्ने भन्दै सर्वोच्च अदालतले गर्ने निर्णय आफूहरूलाई स्वीकार हुने बताए।
तर प्रतिनिधिसभा पुनःस्र्थापना हुने कुनै सम्भावना नरहेकोले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे।