सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ, हामी पाउँछौं :प्रचण्ड/नेपाल समूह

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन्।
ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन्। उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्।
आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन्। आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिन्ह आफूहरूको हुने दाबी गरेका छन्।
सूर्य चिन्ह र पार्टीको नाम नेकपा आफूहरूको हुने नेता पाण्डेले बताए। ‘हामीसँग ७० प्रतिशत मत छ। घर छाडेर जानेले घर पाउँछ ररु अर्को बनाउनुपर्छ,’ पाण्डेले भने, ‘सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ, हामीले पाउछौँ।’
२ तिहाइ भन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गर्दै आफूहरूको निर्णय आधिकारिक रहेको स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले सेतोपाटीलाई बताए।
‘अहिले कायम रहेको ४ सय ३५ सदस्यीय केन्द्रीय कमिटिमा हाम्रो पक्षमा ३ सय भन्दा बढी केन्द्रीय सदस्य छन्। केपी ओलीसँग नयाँ पार्टी खोल्न सक्ने संख्या समेत छैन, उनले भने, ४ सय ३५ को हस्ताक्षरनै वैधानिक हो। केपी ओलीले १५ सय त के २५ हजार लगेर राखे पनि त्यो वैधानिक हुँदैन।
नेकपा गठन हुँदा तत्कालिन नेकपा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो। त्यसपछि एकता प्रक्रियाबाट थपिएका गरी ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी बनेको पोखरेलले बताए।
राजनीतिक र संवैधानिक नियुक्ति पाएका र मृत्यु भएकाको संख्या घटाउँदा ४ सय ३५ सदस्यीय कमिटि हुने उनले तर्क छ। मंगलबार बसेको बैठकले केपी ओलीलाई कारबाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। अध्यक्ष नेपाल र दाहालको समान हैसियत हुनेसमेत निर्णय गरेको थियो।
त्यसैबिच ओली समूहले मंगलबार नै पार्टी केन्द्रीय समिति बिस्तारसम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता गराइसकेको छ। ओली समूहको सो पत्रमा केन्द्रीय समिति बिस्तार भएको उल्लेख छ र सँगै विस्तारित केन्द्रीय समितिमा रहेका सदस्यको सूची पनि राखेको छ।
मंगलबार बालुवाटारमा बसेको बैठकले ५५६ नयाँ सदस्य थप गरेको थियो। ओलीले साबिकको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका थिए। जसमा १९७ जनापछि थप गर्ने बताइएको छ।
यसअघि आजै बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको छ। नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए।