भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भिडन्त, एक प्रहरी र एक विप्लव कार्यकर्ताको मृत्यु

असार, भोजपुर । भोजपुरमा आज बिहान प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भिडन्त भएको छ । भिडन्तमा एक प्रहरी र एकजना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ । भिडन्तमा विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए । उनको साथबाट एक थान चाइनिज पेस्तोल र गोली बरामद गरेको छ । विप्लव समूहका कार्यकर्ताको गोली लागी प्रहरी जवान सन्दीप राईको मृत्यु भएको स्रोतले बतायो । आज बिहान भोजपुर बजार नजिकै रहेको हटिया क्षेत्रमा गएको प्रहरीलाई लुकेर बसेका विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । विप्लव कार्यकर्ताको गोली प्रहारबाट प्रहरी घाइते भएपछि प्रहरीले फायर खोलेका थिए । दुवैजनाको शव जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।