आज नाग पञ्चमीः नागका मन्दिर र घरघरमा नागको पूजा गरिदै

साउन, काठमाडौ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज विशेष श्रद्धापूर्वक मनाइदै छ । आज देशैभर हिन्दू परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा गरिन्छ । बराह पुराणमा उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात् आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ यस दिनमा नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट एवं शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबोले पूजा गरी दूध र लावाको नैवैद्य चढाई घरको मूल ढोकामाथि टाँसिन्छ । नागको चित्रमा लेखिएको हुन्छ ।
अनन्तो वासुकि पद्मो महापद्मश्च तक्षकस् । कुलिरस् कर्कटस् शंखश्चाष्टौ नागास् प्रकीर्तितास् ।।
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते बज्रवारकास् ।।
मुने कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्नि भयं नास्ति लिखितं गृहमण्डले ।।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुस्ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता छ । आजदेखि वर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ भएको मानिन्छ । हिन्दू धर्मका चाडपर्वहरू पनि नागपञ्चमीबाटै सुरु हुन्छन् । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसी आएको धार्मिक विश्वास रही आएको छ । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनविश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिइँदै आएको छ ।नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको छ । शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले पनि नागलाई पुजिएको हो । रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा गरेको भन्ने लोककथन पनि छ ।