बिकृती र बिसङ्गतिलाई हामी आफैबाट परिवर्तन गर्न जरुरी छ ।

लामो समय देखि सामाजिक सेवामा समर्पित एक कर्मठ व्यक्ति हुन् उमा अर्याल । बुवा कृष्ण प्रसाद अर्याल र आमा राधा देवी अर्यालको कोखबाट दोस्रो सन्तान को रुपमा स्याङ्जा जिल्ला साविक वालिङ नगरपालिका वडा नं ११ डौवामा जन्मिनु भएकी उमा अर्यालको प्रारम्भिक शिक्षा सोही ठाउँमा भएको थियो भने माध्यमिक शिक्षा श्री पूर्णामृत भवानी उच्च माध्यमिक विद्यालय भकुण्डे मा भएको थियो, सोही विद्यालयबाट एस.एल.सी (एस.ई.ई.) पास गर्नु भएको थियो । त्यस पछि को अध्ययन आइएड र बिएड वालिङ बहुमुखी क्याम्पस भकुण्डे बाट गर्नु भएको उहाँले एमएड भने बुटवल बहुमुखी क्याम्पस बुटवल बाट गर्नु भयो र हाल ll b second year’s मा अध्ययनरत हुनुहुन्छ । उहाँको बिबाह २०६१ सालमा गुल्मी खड्गकोट जन्मनुभएका बुटवल निवासी राजेन्द्र ढकाल सँग भएको हो । हाल उहाँ का दुई छोरा रोशन ढकाल र रितिक ढकाल हुनुहुन्छ । बैबाहिक जीवन पश्चात करिब ७ वर्ष शिक्षण पेशा अपनाउनु भएको उहाँ करिब दुई वर्ष Hydropower अन्तर्गत बुटवल पावर कम्पनीमा काम गर्नु भयो हाल नेपाल विद्युत प्राधिकरणमा प्रशासन तर्फको सि.मि.रि पदमा रही कार्य गर्दै आउनु भएको छ । उहा ँविभिन्न किसिमका संघ संस्थामा आबद्ध हुनुका साथै २०७३ सालमा ईनरव्हिल क्लव अफ रुपन्देहीमा संस्थापक सदस्यको रूपमा प्रवेश गर्नुभएकी अर्याल हाल वर्ष २०२०/२१ को अध्यक्ष हुनुहुन्छ । बिबिध बिषयमा उमा अर्याल सँग सत्यदीप सन्देशका बसन्तराज बरालले गरेका कुराकानीको सम्पादित अंशः
१.सामाजिक क्षेत्रमा कहिले र कसरी प्रवेश गर्नुभयो ?
म ईनरव्हल क्लब अफ रूपन्देहीमा २०७३ साल प्रवेश गरेको हुँ । त्यति बेला म संस्थापक सदस्यको रुपमा प्रवेश गरेकी थिए । श्रीमान सामाजिक ब्यक्तित्व एवं रोटरीयन भएको कारणले म उहाँकै प्रेरणाले गर्दा म यस क्षेत्रमा आवद्ध भएकी हु ।
२. सामाजिक क्षेत्रमा लागेर के पाए र के गुमाए भन्ने लाग्छ ?
कुनै पनि ब्यक्ति सामाजिक क्षेत्रमा आवद्ध हुनु भनेको आफ्नो स्वार्थ भन्दा पनि सेवा भाव राखेर प्रेवश गरेको हुन्छ । यसरी स्वार्थ भन्दा माथी सेवा भावनाले ओत प्रोत हुँदै खोलिएका सस्थामा आवद्ध हुनु ठुलो कुरा हो । यस क्लबमा आएर मैले गुमाएको केही पनि छैन भने यस सस्थामा आइसकेपछि विभिन्न किसिमका व्यक्तिहरु बाट अनुभव बटुल्न पाए साथीसँगी तथा दिदिबहिनीको मया सद्भाव र साथ पाए र समाजमा सामाजिक व्यक्तित्वको रुपमा चिनिने मौका पाउनुको साथै इज्जत र नाम समेत पाएकी छु ।
३. यस क्षेत्रमा लागेपछि सम्झन लायक क्षण केही भयो कि ?
म यस क्षेत्रमा लाग्नु नै मेरो लागि अविस्मरणीय क्षण भएको छ । हरेक क्षण नै सम्झन लायक बनेको छ । किनकी साथी संगी दिदिबहिनीको माया उत्तिकै पाएकी छु भने गरिब,दिन दुखी असाय अपाङ्ग व्यक्तिहरुको पीडालाई बुझ्ने मौका पाएकी छु । समाजमा रहेका पीडित महिला तथा बाबू आमा गुमाएका बालबालिकाको पिडा बुझ्ने अवसर पाउनुका साथै उनीहरुको घाउमा मलम लगाउन सक्दो सहयोग गर्ने अवसर पनि जुरेको छ । त्यसैले यस क्षेत्रमा मेरो हरेक क्षण सम्झन लायक नै बनेको छ ।
४.भावी योजना के छ ?
म इनरह्वील क्लब अफ रुपन्देहीको अध्यक्ष भैरहदा यस वर्षको इनरह्वल थिम lead the change रहेकोले सोही अनुसार व्यक्तित्व र नेतृत्व परिवर्तन हुने खालका केही प्रशिक्षण कार्यक्रम राख्नेछु । यसका साथै सामाजिक परिवर्तनको लागि समाजमा दु:ख पाएका गरिब दुखी अनाथ अपाङ्ग र असहाय व्यक्तिको घाउमा मलम लगाउने तथा बिशेष गरि महिला तथा बालबालिका लाई मध्यनजर गरि चेतना मुलक कार्यक्रम अगाडि बढाउने जमर्को गर्नेछु
५ .समाजमा युवालाई कसरी परिचालित गर्नुपर्दछ भन्ने लाग्छ ?
समाजमा रहेको विकृती बिसंगतिलाई युवाकै माध्यम बाट परिवर्तन गराउन सकिने हुनाले समाजमा जति पनि युवा जनशक्ति छन त्यस्ता युवालाई सामाजिक सेवाको भावना बोकेका क्लबमा आवद्ध गराइ समाजलाइ परिवर्तन गर्ने कर्यमा युवालाई सहि तरिकाबाट परिचालन गर्नु पर्दछ ।
६.तीज कस्तो पर्व हो ?
तीज विशेष गरि हिन्दु धर्म मान्ने महिला दिदिबहिनीको पिर व्यथा तथा दु:खलाई गीतको माध्यमबाट दु:ख बिसाउने पर्वको रुपमा लिइन्छ । यो पर्व परापुर्व काल देखि नै सस्कृती तथा मौलिकता झल्काउने गरि दिदी बहिनी जम्मा भइ रमाइलो गर्ने पर्वको रुपमा लिइन्छ ।
७. तिजमा देखिएको विकृतिलाई अन्त्य गर्न के गर्नुपर्ला ?
अहिलेको अवस्थामा तीजको नाममा देखिएका जति पनि बिकृती र बिसङ्गति छन ा त्यस्ता बिकृती र बिसङ्गतिलाई हामी आफैबाट परिवर्तन गर्न जरुरी छ । अहिले तीजमा देखिएका तडक भडक जति छन कति चेतनाको कमिले छन भने तेरो भन्दा मेरो के कम भनी घमण्ड गर्ने वा देखावटी प्रबृत्तिलाई अंगालेको कारणले पनि यस्ता खालका बिकृती बढेको पाउन सकिन्छ । यस्ता खाले प्रबृत्तिलाई मानिस स्वयमले सहि ढंगबाट सोचमा परिवर्तन ल्याइ देखावटी प्रबृत्तिलाई त्याग्न सके मात्र यस्ता खालका बिकृतिमा सुधार ल्याउन सकिन्छ ।
८.पुराना तिज गीत र नयाँ तिज गितमा के फरक पाउनु भयो ?
पुराना तीज गीत महिलाका दु:ख वेदना लाई समेटेर मैलिक लोक लयमा आधारित भएर गाइन्थो जस्तै ”बाबाको दैलामुनि ठुलो रुख बर्डर धेरै छोरी छन भनेर हेला नगर ,धेरै छोरी भए पनि आफ्नै कर्म खाने हो रुदै रुदै पराइको घर जाने हो ।”
अहिले मानिसहरू धेरै सचेत भइसकेको कारण यस्ता दु:ख व्यथा र वेदना हराउँदै गएको हो कि भन्ने हुन्छ यो एउटा खुशीको पाटो हो भने आर्को तिर चेतना र परिवर्तन संगै अलि भड्किला,छाडा र बिसङ्गति झल्काउने खालका पनि तीज गीतहरू बजारमा देख्न सकिन्छ ।” आफू त दर खान पार्टी प्यालेस धाइन्छ फेरि फेरि गहना र सारी लाइन्छ ।” यस्ता खालका भड्किला तीज गीतले नेपाली समाजको परिवर्तन होइन कि बिकृतीलाई बडावा दिने त होइन भन्ने महशुस गरेकी छु ।
९.अन्तमा केही भन्नुहुन्छ की ?
यस पटकको तीज अलि फरक तरिका व्यवस्थाबाट हुने महिले महशुस गरेकी छु । कोभीड – १९ को कारण बिश्वनै महामारिको चपेटामा परेको बेला नेपालमा पनि यहि समयमा समुदाय स्तरमा कोरोना फैलिन थालेको देखिन्छ । यो अवस्थालाई मध्यनजर गरि आमा दिदिबहिनी तथा सम्पूर्ण आदरणीय ब्याक्तित्वले सामाजिक दुरि कायम गरि भेला हौ । सकभर जमघट भएको ठाँउमा होसियार हौ । कोरोना बाट सुरक्षित हुदै तीज मनाउ भन्दै हिन्दु नारीहरुको महान पर्व हरितलिका तीजको सम्पूर्णमा शुभकामना दिन चाहन्छु । तिजलाइ तडक भडक बनाउने होइनकि मौलिकता झल्काउने खालको पर्वको रुपमा मनाउ ।