add frist

नेपालमा थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक संख्यामा कोरोना  संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस सँगै देशभर संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । देशभर ३० हजार ८ सय १८ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा १ हजार २ सय २९ संक्रमित डिस्चार्ज भएसँगै कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।

हाल दैनिक थपिने संक्रमितहरु मध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गरीएकोमा काठमाडौं उपत्यकामा मात्र २ हजार ६ सय ७२ कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङजाका १, सुनसरीका १, मोरङका २, सर्लाहीका १, काठमाडौंका २, ललितपुरका २, भक्तपुरका १, मकवानपुरका १, धादिङका १, नवलपरासी पूर्वका १ र रुपेन्देहीका १ जनाको मृत्यु भएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु