कांग्रेस पनि बिभाजनको संघारमा , देउवा र पौडेल छुट्टा छुट्टै भेला गर्दै

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला डाकेकै दिन सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । फागुन ५ बुधबारका लागि पार्टीका जिल्ला सभापति, पूर्व सभापति र काठमाडौंमा उपलब्ध महासमितिका सदस्यहरुलाई केन्द्रीय कार्यालयमा बैठकका लागि बोलाइएको छ भने वरिष्ठ नेता पौडेल पक्षले आफूपक्षीय जिल्ला सभापतिहरूको बैठक डाकेकै दिन पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन्। यो स्थितिले नेपाली कांग्रेस बिभाजनको संघारमा पुगेको संकेत गरेको छ ।
फागुन ७ देखि तोकिएको पूर्व निर्धारित कार्यतालिका अनुसार १४औं महाधिवेशन समयमा हुन नसकेपछि नयाँ रणनीतिका लागि पौडेल पक्षले बैठक बोलाएको छ । माघ मसान्तसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि अन्तिमपटक समयावधि छुट्याइए पनि कार्यतालिका अनुसार कार्य भएको छैन। संगठन समायोजनको कार्य तीन जिल्लामा टुंगिन बाँकी छ।
देउवा नेतृत्वको कार्यसमितिको थपिएको एक वर्षको कार्यकाल फागुन २३ मा सकिँदैछ। दलसम्बन्धी ऐनले दिएको व्यवस्था अनुसार ६ महिना थप्न अवधि छ। भदौभित्र महाधिवेशन गर्न नसके कांग्रेसलाई संवैधानिक संकट आउने देखिएको छ।