add frist

दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

काठमाडौँ, चैत । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८ : ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गनुृभएको हो । राष्ट्रपति भण्डारीको बिदाइका लागि विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी जानुभएको थियो । भण्डारीलाई विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

गणतन्त्र नेपालको राष्ट्रपति स्तरको पहिलो भ्रमण भएकाले बङ्गलादेशमा भव्य स्वागतको तयारी भएको बङ्गलादेशस्थित नेपालका राजदूत डा. वंशीधर मिश्रले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीलाई उहाँका समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नुहुनेछ । विमानस्थलबाट राष्ट्रपति भण्डारी बङ्गलादेशको शहीद स्मृति पार्क जानुहुनेछ ।

त्यसपश्चात राष्ट्रपति भण्डारी दिनभरजसो नै बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी समारोह तथा स्वर्ण जयन्ती समारोहमा व्यस्त रहनुहुनेछ । सो क्रममा उहाँले नेपाल–बङ्गलादेश सम्बन्ध तथा बङ्गबन्धुको जन्मशताब्दीका विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । समारोहमा नेपाली सांस्कृतिक समूहले बङ्गबन्धुको जन्मशताब्दी समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । उहाँले बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नुहुनेछ ।

सोही क्रममा समकक्षी हमिदसँग छुट्टै द्विपक्षीय भेटवार्तासँगै रात्रि भोजमा सरिक हुनुहुनेछ । मङ्गलबार राष्ट्रपति भण्डारीले बङ्गलादेशस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहनुभएका नेपालीसँग भेट गर्नुहुने कार्यक्रम छ । सो अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत डा। मिश्रले आयोजना गर्नुहुने दिवा भोजमा सरिक हुनुहुनेछ । दुई देशबीचको आयात–निर्यात र व्यापार असन्तुलन कम गर्न नेपालको स्थानीय उत्पादनलाई बङ्गलादेशको आयातमा थप्नका लागि बढावा दिने अपेक्षा गरिएको छ । त्यस्तै कृषि उपकरण, बीउ बिजन तथा मल नेपालमा सहज उपलब्ध गराउन बङ्गलादेशले भूमिका खेल्ने विश्वास गरिएको छ । र राष्ट्रपति भण्डारी चैत १० गते नेपाल फर्कनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु