add frist

प्रधानमन्त्री ओलीले पाएनन‍् विश्वासको मत, सरकार कामचलाउमा परिणत

बुटवल । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल हुनुभएको छ ।

संसदको आजको विशेष अधिवेशनको बैठकमा विश्वासको मत लिने प्रक्रियामा प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ । १५ जनाले मत दिन्न भनेर तटस्थ रहे। बैठकमा २३२ सांसद उपस्थित हुनुभएको सभामुख सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक पथ्र्याे ।

प्रस्तावमा सत्तारुढ नेकपा एमालेका १२१, नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका (सभामुखबाहेक) ४८ , जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक सांसद गरी २६६ सांसदलाई मताधिकार थियो ।

प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका केही सांसदले मतदात गरेका थिए । जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहे भने संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहे ।

बहुमत गुमाएसँगै प्रधानमन्त्री ओली कामचलाउमा परिणत हुनुभएको छ । अब नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ हुनेछ। प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु