लुम्बिनीसहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने
"बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध"

बुटवल । लुम्बिनीसहित देशका विभिन्न स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले शनिबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरु, प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
आगामी २४ घण्टामा यी क्षेत्रहरुमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
आइतबार लुम्बिनी प्रदेश सँगै, प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारी वर्षा हुने विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
सोमबार पनि र गण्डकी प्रदेश, प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा जनाइएको छ ।