खाद्य अधिकारको सुनिश्चित गर्नका लागि नियमित अनुगमन गर्नुपर्नेमा जोड

बुटवल,असोज । आम नागरीकले खाद्य अधिकारको अनुभूति गर्नका लागि नियमित अनुगमन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, रुपन्देही र उपभोक्ताहित संरक्षण मञ्च रुपन्देहीले असोज १८ गते बुटवलमा आयोजना गरेको स्थानीय समुदायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तर्गत खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मीले खाद्य अधिकार भनेको सबै नागरिकले गुणस्तरयुक्त सामाग्री प्राप्त गर्न पाउने अवस्था भएकोले राज्यले विभिनन ऐन बनाएर नागरिकको खाद्यअधिकारको उपभोग भए नभएको अनुगमन गरिहेको बताउनुभयो ।
प्रशासकीय अधिकृत रेग्मीले आफ्नो अधिकारको विषयमा आम नागरीकहरु सचेत नभएसम्म यस्ता समस्याहरु दोहोरिरहने भएकोले यो विषयमा आम नागरीकलाई सशक्त गर्दे अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।
उपभोक्ताले आफ्नो क्षमता अनुसारका खाद्य वस्तुहरु किन्ने भएकोले सबै खाद्यवस्तुहरुको मुल्य सूची र लेवल स्पष्ट रुपमा राख्नको लागि व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
बजारमा विभिन्न खालका खुल्ला सामग्रीहरु वेचविखन गर्दे आएकोले यस्ता व्यवसायलाई व्यवस्थापन गरी अवका दिनमा कसरी अगाडी बढन सकिन्छ भन्ने विषयमा पनि सम्बन्धित निकायसँग छलफल गरेर अगाडी बढने बताउनुभयो ।
उहाँले विभिन्न खाद्यवस्तुहरुमा नाप तौलको विषयमा पनि समस्या भएकोले यस विषयमा नागरिकहरुलाई कसरी सचेत गराउन सकिन्छ र उपभोक्त ठगिनबाट जोगाउन सकिन्छ भन्ने विषयमा पनि व्यवसायीहरुले सोच्नुपर्ने बताउदै छलफलबाट आएका सवालहरुलाई आफ्नो मातहतका सबै कार्यालयमा सम्प्रेषण गर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका अनुगमन शाखाका अधिकृत ठगिश्वर पोखरेलले विभिन्न समयमा गरिएका अनुगमनमा दर्ता र दर्ता अध्यावधिक नगरिएको,सामान खरिद र विक्री गर्दा लेवलको वास्ता नगरिएको,उपभोक्ताको हित संरक्षण भन्दा पनि व्यक्तिगत हित प्रवद्र्धनमा चासो भएको,बजार मुल्यको एकिन गर्न समस्या भएको,न्यून विलिङ्ग जस्ता समस्या भएको बताउनुभयो ।
अनुगमनका क्रममा किराना, फलफलफुल तथा खाद्यान्न पसलमा २ सय किलो तरकारी तथा फलफुल,विभिन्न खाद्यान्न सामाग्री करीब १ सय किलो र ५० पोका आधा किलोका दालमोट बरामद गरि नष्ट गरिएको र दुई ओटा पसललाई ५ हजार र २ हजार जरिवाना गरेको बताउनुभयो ।
त्यस्तै १४ वटा माछामासु पसल अनुगमन गर्दा ३३ किलो अखाद्य मासु बरामद गरी नष्ट गरिएको र तीन ओटा मासु पसललाई ५⁄५ हजारका दरले जरिवाना गरेको होटल तथा रेष्टुरेन्टमा ५ किलो समोसा र चार्ट बरामद गरी ५ हजार जरिवाना गरेको बताउनुभयो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत जोसना शर्मा अधिकारीले सबै व्यवसायीहरुले व्यवसायीक मर्यादामा रहेर व्यवसाय गरे मात्र खाद्य अधिकारको सुनिश्चितता हुने भएकोले व्यवसायिक मर्यादा पालना गर्न सबै व्यवसायीलाई आग्रह गर्दे अखाद्य वस्तुको मिसावट गरी विक्रि वितरण गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याएको बताउनुभयो ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका राम प्रसाद गौतमले अनुगमनलाई निरन्तरता दिई प्रभावकारी रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । त्यस्तै मानवअधिकार निगरानी समितीका उपाध्यक्ष डोलराज पाण्डेले उपभोक्ताहरु प्रत्येक सामान खरिद गर्दा ठगिएकोले यो विषयमा राज्य गंभिर हुनुपर्ने र इन्सेक र उपभोक्ता हित संरक्षण मञ्चले यस्ता कार्यक्रमहरु मार्फत अझ जिम्मेवार निकायलाई जवाफदेही बनाइरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले सीमा नाका खुल्ला रहँदासम्म उपभोक्ता अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभयो । उहाँले सबै व्यवसायीले राज्यलाई कर तिर्नको लागि तयार भएको र यस विषयमा आम नागरिकमा जनचेतनाको कमी रहेकोले इन्सेकलाई सो विषयमा सहजीकरण गर्न आग्रह गर्नुभयो ।
दर्ता नभई संचालन भएका व्यवसायहरुका कारण पनि बदनाम भएकोले हरेक व्यवसायीहरुले पनि आफ्नो उद्योग व्यवसाय दर्ता गरेर मात्र संचालन गर्नुपर्ने बताउदै सरकारले दर्ता र बन्दलाई पनि सहजता गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले राज्यबाट व्यवसायीहरु संरक्षित नभएकोले व्यवसायीको व्यवसायलाई सुरक्षित गर्नका लागि राज्यले ध्यान दिनुपने बताउदै व्यवसायीहरुले पनि अधिकारका कुरा मात्र नगरेर व्यवसायीक मर्यादा र कर्तव्यको पनि पालना गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल र मेघनाथ पौडेलले खुल्ला सीमा नाकाका कारण समस्या भएको बताउदै रुढीवादी परम्पराका कारण पनि समस्या भएको बताउनुभयो ।
कार्यक्रममा मीठाई ताथ क्याटिङ्ग व्यवसायी संघका अध्यक्ष लक्ष्मण पोखरेलले गुणस्तरीय बस्तु उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार भएकोले प्रत्येक नागरिकलाई सचेत पार्दे लैजाने र खुल्ला सीमानाका कारण नेपालका व्यवसायीहरु मर्कामा परेकाले खुलेयाम विक्रि हुने अखाद्य र गुणस्तरहीन वस्तुहरुलाई रोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपभोक्त हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका कोषध्यक्ष ऋषि आजादले आम नागरीकको अधिकारको संरक्षण गर्दे व्यवसायीक मर्यादा अनुसार गुणस्तरयुक्त पदार्थ उत्पादन र विक्री वितरण गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योग व्यवसायी संघका अध्यक्ष बालाराम भट्टराईले अनुगमनलाई निरन्तरता दिनुपर्ने,आम नागरिकलाई निरन्तर सचेतीकरण गर्ने,नियमित अन्तरक्रिया गर्ने संचारमाध्यमसँग बढी भन्दा बढी सहकार्य गर्ने र सरोकारवाल सबै निकायहरु साझा संकल्पका साथ प्रतिवद्ध रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मासु व्यवसायी संघ रुपन्देहीका उपाधयक्ष चुरामणी घिमिरेले फुटपातमा भएका खुलेयाम विक्रिी हुने खाद्य वस्तु सबैभन्दा हानीकारक भएकोले यस विषयमा गंभिर हुन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बि.सी.ले इन्सेकले तीन दशकदेखि मानवअधिकारको अनुगमन,अभिलेखिकरण गर्दे मानवअधिकारको संरक्षण र प्रवद्र्धन तथा मानवअधिकार शिक्षाको क्षेत्रमा काम गर्दे आएकोले मानवअधिकार संस्कृतिको विकास गर्नको लागि सबै सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुद्र जिसीको अध्यक्षता मानवअधिकार निगरानी समिती बुटवलका अध्यक्ष कमला भण्डारीको स्वागत तथा जिल्ला सहजकर्ता विष्णु घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।