मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौँ, असोज । मुगुको छायाँनाथ रारा नगरपालिकाको–७ र ८ को बीचमा पर्ने झ्यारी खोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घटनास्थलमा २४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
२ जनाको घटनास्थलबाट उद्दार गरेर विमानस्थलमा लैजाने क्रममा तथा २ जनाको विमानस्थल पुर्याइएपछि मृत्यु भएको हो। यस्तै, ४ जनाको उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा पुर्याएपछि मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार बसमा ४५ जना सवार थिए। अन्य सबै यात्रु घाइते रहेका प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये १ बालकसहित १३ जनाको जिल्ला अस्पताल गमगढीमा उपचार भइरहेको छ। दशैंका लागि घर फर्किने यात्रुहरु बोकेर नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस चढेको छायाँनाथ रारा नगरपालिकाको–७ र ८ को बीचमा पर्ने झ्यारी खोलामा दुर्घटना भएको हो।