पाल्पामा मलामी बोकेको बस दुर्घटना ८ जनाको मृत्यु

बुटवल । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
आइतबार बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लगुवामा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हार्थोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) विष्णु रेग्मीले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएकाहरूको सनाखत हुन भने बाँकी रहेको उनले बताए ।
अर्घाखाँचीको मालारानी गाउँपालिका-२, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।