‘जाउँ है पोखरा’अभियानको टोली बुटवलमा

बुटवल,फागुन । पश्चिमाञ्चल होटल संघ पोखराले दुई दशकदेखि सुरु गरेको ‘जाउँ है पोखरा’ यो वर्ष पनि निरन्तरता दिएको छ । अभियानको टोलीले सोमबार बुटवलमा सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कोभिड–१९ को संक्रमणका कारण जटिल समस्यामा परेको पर्यटन क्षेत्र उकास्नका लागि अभियान महत्वपूर्ण हुने सहभागीहरुले बताए ।
बुटवलबाट सुरु भएको अभियान हेटौडा, विरगंज, चितवन लगायत शहरमा फागुन ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने संयोजक विकल तुलाचनले बताए । पोखरामा भएका नयाँनयाँ गन्तव्यहरुको खोजी भएको र त्यसबारे समेत जानकारी दिने काम अभियान सहयोगसिद्घ हुने उनले बताए । पछिल्लो समय नेपालका अधिकांश मुख्य शहरसंग पोखरा हवाईमार्गबाट जोडिएको भन्दै उनले यसबाट पर्यटकहरुलाई फाइदा मिल्ने बताए ।
बन्जी, प्याराग्लाईडिङ, हाईकिङ, साईक्लिङ, केबलकार लगायत साहसिक खेलहरुको कारण पनि पोखरा पर्यटकको आकर्षक बन्न सफल भएको उनले बताए । फेवा नव वर्ष महोत्सवमा आमन्त्रण गर्ने रुपमा आफूहरुले अभियान चलाएको उनले बताए ।
लुम्बिनी प्रदेशका पर्यटन सचिव महेश न्यौपानेले ‘सेभ द कल्चर, सेल द कल्चर’ लाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताए । समुदायका मानिसहरुलाई अग्रसर गराएर यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने गरी कल्चरल भिलेज अवधारणा ल्याउँदा सफलता मिल्ने भन्दै यो धेरै महत्वपूर्ण हुने बताए ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेचर, कल्चर र एडभन्चरका बारेमा जानकारी दिने काम २ दशकदेखि गर्दै आएको भन्दै प्रविधिमैत्री पर्यटन विकासमा अघि बढेको बताए । आन्तरिक पर्यटक नै दिगो पर्यटक भएको भन्दै अहिले ३ प्रतिशतबाट ५० प्रतिशत पुगेको उनले बताए । संस्थागत रुपमा होटल संघले ३० प्रतिशतसम्म छुटका साथै थप अन्य छुटको व्यवस्था गरिरहेको उनले बताए । पर्यटक आदानप्रदान गर्ने रुपमा अभियान सञ्चालन भएको उनले बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पोखरा पर्यटन विकासमा अन्य क्षेत्रलाई सिक्ने र सिकाउने रुपमा रहेको बताए । लुम्बिनी क्षेत्रलाई समेटेर अघि बढ्न सके मात्र समग्र पर्यटन क्षेत्र पूरा हुने उनले बताए ।
नेपाल होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले पोखरा व्यवसायीहरुबाट चलाइएको अभियान निकै उदाहरणीय भएको भन्दै देशका अन्य संघहरु अघि बढ्नुपर्ने सुझाव दिए । कोभिडबाट धरासायी भएको पर्यटन क्षेत्र उकास्न सरकारले पुर्नकर्जा १ वर्षको घोषणा भए पनि त्यो सान्दर्भिक नभएको दुखेसो गरे । कम्तिमा ५ वर्षको अवधि बढाउनुपर्ने उनले बताए । व्यवसायीहरुको पर्यटकप्रति गरिने व्यवहार, सत्कारका विषयमा समेत ध्यान दिनुपर्ने बताए । सरकारले आन्तरिक पर्यटनको बढाउन नीतिगत रुपमा नै अघि बढाउनुपर्ने सुझाव दिए ।