नेपाल समूह विजेता बन्दै टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाण्डौं । नेपाली क्रिकेट टिम ओमानमा जारी आईसीसी टी-२० विश्वकपको ग्लाबल छनोटको सेमिफाइनलमा पुगेको छ । सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’बाट खेलेको नेपालले तीन म्याचमै जित हात पार्यो ।
नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै उत्कृष्ट सुरुवात गर्यो । दोस्रो खेलमा नेपाली टिमले फिलिपिन्सलाई १३६ रनले हराउँदै जित यात्रालाई निरन्तरता दियो । समूह चरणको अन्तिम खेलमा क्यानडामाथि पनि फराकिलो जित हात पार्दै नेपालले लय कायम राखेको छ ।
नेपालले अब सेमिफाइनलमा समूह ‘ए’को उपविजेता यूएईको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल भोली मंगलबार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । सो खेल जित्ने टोलीले यही वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ ।
समूह चरणको तेस्रो खेलमा क्यानडाले दिएको । ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा ३ चौकाको सहयोगमा ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा तीन चौकासहित २७ ।रनको योगदान दिए । आसिफ शेख १७ रनमा आउट हुँदा कुशल मल्लले खाता खोल्न सकेनन् । क्यानडाका सलमान नजिर र कलीम सनाले एक–एक विकेट हात पारे ।
अल अमरेत क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो । उसका लागि नवनीत धालिवालले १८, डिलन हेलिगरले अविजित २४, र रयान पठानले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
क्यानडालाई सस्तैमा समेट्न नेपाली कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरे । उनले ४ ओभरमा १२ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, अविनाश बोहराले दुईरदुई र कुशल मल्लले एक विकेट हात पारे । नेपाललाई दुई विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।