कृषि मन्त्रालयले अनुगमनलाई प्रभावकारी बनाउने

बुटवल, फागुन । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयले प्रदेश मातहतबाट वितरण हुने अनुदानको थप प्रभावकारीका लागि अनुगमन कार्यक्रमलाई थप कडाईका साथ लागू गर्ने भएको छ । मन्त्रालयद्धारा आयोजना गरिएको सञ्चारकर्मीहरु संगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव बैकुण्ठ अधिकारीले प्रदेशबाट नयाँ काम र नमुना कामको सुरुवात भएको जानकारी दिदै मातहतका कार्यालयहरुबाट वितरण हुने अनुदान थप प्रभावकारी बनाउने बताउनुभयो ।
उहाँले अनुदान प्रणालीलाई थप परिस्कृत गर्दै प्रतिफलमा आधारित र प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिदै यसको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
मन्त्रालयले सुरुवात गरेका स्मार्ट कृषि गाँउ कार्यक्रम ,ब्याज अनुदान प्रदान गर्ने कार्यक्रम सहित प्रतिफलमा आधारित अनुदान कार्यक्रम नमुनाको रुपमा सफल रहेको भन्दै उहाँले यसको थप प्रभावकारी कार्यान्वयनको लागि प्रदेश सरकार तत्पर रहेको बताउँनुभयो ।
प्रदेशको कृषि मन्त्रालय एकल रुपमा लागेर मात्रै कृषिमा आमूल परिर्वतन संभव नभएको भन्दै उहाँले प्रदेशका सबै मन्त्रालय, निकायको साथै संघीय सरकारका निकाय र स्थानिय तहका विचमा समेत आपरि संमन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा उठेका विभिन्न प्रश्नहरुको जवाफ दिदै उहाँले मन्त्रालयले अव एकिकृत रुपमा विभिन्न पकेट निर्माण गरि सोही अनुरुप प्रतिफलमा आधारित अनुदान, प्रोत्साहन प्रदान गर्ने बताउनुभयो ।
उहाले भन्नुभयो–‘हामी अव अनुदान भन्दा पनि प्रविधि हस्तान्तरण गर्ने, किसानलाई कर्जा प्रवाह गरी ब्याजमा अनुदान दिने गरी कार्ययोजना बनाएर लागेका छौं । ’
कार्यक्रममा मन्त्रालयको योजना तथा अनुगमन नीति तथा मापदण्ड महाशाखा बाली विकास अधिकृत प्रमुख शालिकराम गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्त्रालयका प्रवक्ता तथा पशुपंक्षि विकास महाशाखा प्रमुख तुलसीराम भण्डारी, स्मार्ट कृषि गाउँ कार्यान्वयन ईकाई प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत घनश्याम चौधरी लगायतले संवोधन गर्नुभएको थियो । कार्यक्रममा कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेश संयोजक कृष्ण खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले संवोधन गर्नुभएको थियो ।