जबजका कारण कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा : एमाले उपाध्यक्ष पौडेल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताउनुभएको छ ।
जननेता मदनकुमार भण्डारीको ७१ औँ जन्म जयन्तिका अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले मदन भण्डारीले विचारको भण्डार सुम्पिएर जानुभएको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद नभएको भए नेपालमा कम्प्युनिष्ट आन्दोलनले यति उचाइ प्राप्त गर्न नसक्ने उल्लेख गर्नुभयो ।
पाँचौ महाधिबेशनमा पार्टीको नीति र सिद्धान्त कस्तो हुने भन्ने विषयमा व्यापक छलफल पश्चात मतदानमार्फत जनताको बहुदलीय जनवाद पारित भएको स्मरण गर्दै उहाँले जबजको धेरै ठूलो अर्थ भएको चर्चा गर्नुभयो । “हामी अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्छौ । अभिव्यक्ति स्वतन्त्रताले गल्ती गर्नबाट जोगाउँछ”, उहाँले भन्नुभयो ।
जनताको अनुमोदनमा मात्रै पार्टी शासन सत्तामा रहन सक्छ भन्ने कुरामा स्पष्ट रहँदै आवधिक निर्वाचनमा जाने मान्यतालाई जबजले आत्मसाथ गरेको बताउनुभयो ।
नेपालको श्रमजिवि वर्गले विभिन्न चूनौतिको सामना गर्नेक्रममा नयाँ खोजीको आवश्यकता महसुश गरी वर्गसंघर्ष र व्यवहारिक प्रयोगका सन्दर्भका यो मार्गदर्शन आएको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रचार विभाग लुम्बिनी प्रदेशका प्रमुख डिआर घिमिरेले जनताको बहुदलीय जनवादका १४ बुँदामा संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, सहित मानव अधिकार अभिव्यक्ति स्वतन्त्रताको विषयलाई जोड दिइएको बताउनुभयो ।
प्रत्येक व्यक्तिलाई जनता र राष्ट्र«का निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूति व्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ भनेर जबजको मार्गदर्शन सिद्धान्तमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।
लेखक ऋषि आजादले पार्टीमा चित्त नबुझेका कुराहरु निर्धक्क राख्न पाउनुपर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै बोेल्न नदिँदा पार्टी बिग्रने भएकाले यसमा नेतृत्व सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
बुद्धिजिवी लिलाबल्लभ ढकालले मदन भण्डारीले श्रमजीवि वर्गको हीत हुने राज्यव्यवस्थाको कल्पना जबजभित्र गर्नुभएको बताउनुभयो ।
कार्यकममा आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले जबजलाई टेकेर एमालेले नीति कार्यक्रम निर्माण गर्ने गरेको बताउनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अमृता अनमोलले जबजमा लैङ्गिक समानता र समावेशिताको विषयलाई समेत समेटिएकाले पार्टीका विभिन्न तहमा यो सिद्धान्त कार्यान्वनका लागि भूमिका खेल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, उपाध्यक्ष द्वय विपी गौतम, भगवती पाण्डे लगायतले बोल्दै जनताको बहुदलीय जनवादमा अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिइएको जनाउँदै यसको कार्यान्वयनका लागि आग्रह गर्नुभयो ।