add frist

जनप्रतिनिधिलाई पोखरीमा धकेल्ने डिएसपीलाई कारबाही गर्न एमालेको माग

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालिदिने प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीलाई कारबाही गर्न एमाले रूपन्देहीले माग गरेको छ।

नगरसभामा उपस्थित भए पनि आफूहरूलाई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न नदिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका बीचमा विवाद बढ्दै गएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक केसीले वडा अध्यक्ष क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालिदिएका थिए ।

एमालेले राष्ट्र र जनताको सेवामा खटिनुपर्ने प्रहरीले जनप्रतिनिधिलाई हुत्याएर पोखरीमा फालिदिनु दुखदायी भएको भन्दै प्रहरी नायब उपरीक्षक केसीलाई कारबाही गर्न माग गरेको हो ।

एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई केसीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

एमाले प्रदेश कमिटी सदस्य मोहन चापागाईंले केसीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिइने र गृहमन्त्रीको आडमा गरिएका शक्तिको दुरूपयोगलाई निस्तेज पार्ने विरोध कार्यक्रम गराई आपराधिक काममा संलग्नलाई कारबाही गराएरै छाड्ने बताए ।

एमालेनिकट युवासंघले पनि जनप्रतिनिधिमाथि प्रहरीले गरेको धरपकड र दुर्व्यवहारको विरोध गरेको छ।

सोमबार मध्यान्ह मणिग्राम चोकमा युवासंघले प्रदर्शन गर्दै प्रहरी नायब उपरीक्षक केसीमाथि कारबाहीको माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु