गठबन्धनको वैशाखी संकटतर्फ धकेलिएको छ : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा भिड्ने आँट नेपालका कुनै पनि राजनीतिक दलसँग नभएको दाबी गरेका छन् । दलहरुले एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रुपमै स्वीकार गरेर वैशाखीको रुपमा गठबन्धन गरेको बताएका छन् । ‘गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिष्पर्धा गरे पनि त्यो असफल हुनेछ,’ पौडेलले भने ‘गठबन्धनको वैशाखी समेत संकटतर्फ धकेलिएको छ ।’
प्रेस चौतारी नेपाल रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले आफ्नो मात्रै खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको जिकिर गरे । एमाले एक्लै चुनाव लड्छ । निर्वाचनपछि एमाले एक्लै सरकार बनाउन पुग्नेछ । त्यसको लागि सबै लाग्नुपर्ने अवस्था आएको छ ।’ उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै लड्दा पनि धेरै जित निकालेको बताए । उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृसंगठनहरूलाई आग्रह समेत गरे ।
नेता पौडेलले गठबन्धनले एमालेविरूद्ध विभिन्न झूटा भ्रमहरू सिर्जना गरेको भन्दै त्यस्ता भ्रमहरूलाई चिर्न प्रचार कार्यकर्ताहरूलाई निर्देशन दिए ।
बुटवलमा निर्माणाधीन तिनाउ दानव करिडोरबाट प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सृजना नगर्न आग्रह समेत गरे । ‘करिडोरमा पर्ने घरपरिवारको उचित व्यवस्थापन गरेपछि मात्रै करिडोर निर्माणको काम अगाडि बढ्छ, विकास आयोजनाबाट प्रभावितहरूको उचित व्यवस्थापन गर्ने जिम्मेवारी हामी लिन्छौं र विकास आयोजना अगाडि बढाउँछौं,’ पौडेलले भने । एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको उनको भनाइ छ ।