अव यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने छन् : उर्जामन्त्री

बुटवल । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले बुटवल–लुम्बिनी प्रसारण लाइनबाट अव यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने बताएकी छन् ।
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाईनको सोमबार रुपन्देहीको मैनहियामा उदघाटन गर्दै उर्जामन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले अव सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिइन् । “यातायात, सिंचाईलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्नु जरुरी छ, विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउने छ, त्यसैले म सवारी किन्न चाहनेहरुलाई विद्युतीय साधन किन्नका लागि अनुरोध गर्दछु”–उनले भनिन् ।
सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बंगलादेशमा बिक्री गरिने पनि मन्त्री भुसालको भनाई छ । “अहिले भारतमा दैनिक ४०० मेगावाट विद्युत बिक्री भैरहेको छ, बंगलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको छ”–उनले भनिन् ।
उर्जामन्त्री भुसालले विद्युतको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताइन् । सिंचाईका लागि प्रयोग हुने विद्युत महशुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने पनि उनले बताइन् ।
अव छिट्टै नै सबैको घरमा विद्युत जडान हुने पनि उनले बताएकी छन् । अहिले करिव ९५ प्रतिशत जनताका घरमा विद्युत पुगेको भन्दै दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत उपलव्ध गराउने गरी सरकारले काम गरिरहेको उनले बताइन् । अन्य आयोजनाहरु समयमै पूरा नहुने परिपाटीका बीच यो आयोजना समयमै सम्पन्न भएको भन्दै उनले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिइन् ।
कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको भन्दै अव यो क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने बताए । प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाईन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको विजुली भारतमा बिक्री गर्न सकिने उनले बताए ।
अहिले मुलुकले विद्युत व्यापारबाट मासिक दुई अर्व भारतीय रुपियाँ आम्दानी गरिरहेको भन्दै घिसिङले नेपालको विद्युत दक्षिण एशियामै सस्तो रहेको दावी गरे । अव प्राधिकरण गुणस्तरीय विद्युत आपूर्तिका लागि काम गर्ने पनि उनले बताए ।
कार्यक्रमका अवसरका १३२/३३/११ केभीएको मैनहिया सब स्टेशनको पनि उर्जामन्त्री भुसालले उदघाटन गरेकी थिइन् । त्यस अवसरमा लुम्बिनी चेम्बर अफ कमर्शका महासचिव झविन्द्रप्रसाद कंडेल, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलगायतले पनि बोलेका थिए ।
नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहेका छन् ।
आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले अव भैरहवा क्षेत्रको विद्युत समस्या हटेको बताउनुभयो । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने र त्यसमध्ये चार वटा फिडरको लाइन तानिएको पाण्डेले बताए ।
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतीका लागि प्रसारण लाइन बिस्तार थालिएको थियो ।