सेती खोंचमा राति पनि खोजी गरिने

पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको खोजी कार्य राति पनि हुने भएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको हो।
उनका अनुसार जहाजमा रहेका ३ जना अझै बेपत्ता छन्। अहिलेसम्म ६९ जनाको शव फेला परेको र तीमध्ये ४७ जनाको शव गण्डकी अस्पतालमा पुर्याइएको छ।
बाँकी २२ शव पनि अस्पतालमा पुर्याउने तयारी भइरहेको सिडिओ केसीले बताए।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन्। नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन्।
त्यसैगरी प्रहरी र सशस्त्र प्रहरी पनि सयौंको संख्यामा खटिएका छन्। काठमाडौंबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पनि पोखरा गएको छ।
उक्त टोलीले बत्ती, क्रेन लगायतको सहयोगमा खोजी कार्य जारी नै राख्न लागिएको हो।
‘आज नै सबै जना भेटियोस् भन्ने हिसाबले काम अगाडि बढेको छ। त्यसैले रातभर खोजी गर्ने भएको छ,’ उनले भने।
यस्तै भेटिएका शवका पहिचान पनि भोलि मात्रै गरिने उनले बताए।
सम्बन्धित परिवारलाई शव भोलि बुझाउने तयारी रहेको पनि उनले बताए। विदेशी नागरिक तथा अन्य जिल्लाका शवलाई पनि काठमाडौं ल्याइने उनले बताए।
‘पोखरामै बस्ने वा यहीँ शव बुझ्नेलाई यहीँ जिम्मा लगाउँछौं। विदेशीको हकमा काठमाडौंमै पठाउछौं,’ उनले भने, ‘अन्यको पनि काठमाडौंमै जिम्मा लगाउने गरी तयारी अगाडि बढाएका छौं।’ -रासस