दाङमा ग्यास सिलिन्डर पड्किँदा दुई घाइते

काठमाडौँमा एक जनाको मृत्यु हुनेगरी ग्यास सिकिन्डर पड्केको २४ घन्टा नबित्दै दाङमा पनि खाना पकाउने ग्यास पड्किँदा दुईजना घाइते भएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१६ लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा बिहीबार बिहान ११:४५ बजे ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय ५० वर्षीया कुसुम केसी र भरतपुर घर भएका २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् । उनीहरु दुवैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याइएको छ ।
घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ । हिजो राती काठमाडौँको बुद्धनगरमा सिलिन्डर विस्फोटमा परी सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् भने उनको आमा हरिकला भण्डारीको मृत्यु भएको थियो । सांसद भण्डारीलाई उपचारका लागि भारत लगिएको छ ।