प्राङ्गारिक कृषि मेलामा रहेको कृषि औजारप्रति उपभोक्ताको आकर्षण
- सत्यदीप सन्देश
- 25 Feb, 2024
बसन्तराज बराल
बुटवल,१२ फागुन । बुटवलको राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा एउटा स्टल छ, गोर्खाली कृषि औजार पसल । त्यसका संचालक हुन् जीतबहादुर बिश्वकर्मा ।
गोर्खा च्याङलिङका जीतबहादुर चितवन झरे । बाबुबाजेकै सिकाएको आरनको काम सम्हाले । हँसिया, खुर्पा, दाउ, फाली, बञ्चरो, ताप्के, कराई सबै बनाए। काम त जिविकाकै लागि थियो । पहाडिया डिजाइनमा बनेका घरायसी सामानहरु मान्छेले मन पराए ।
‘१२ वर्षकै उमेरदेखि काम गर्न थालेको हुँ’,यसकामलाइ निरन्तरता दिएको ४६ बर्ष पुगेको छ उनले भने, ‘गौँथलीले गुँड लगाएजस्तै गरि अलिअलि गरेर अहिलेको अवस्थामा आएको हुँ । ’ उनी अहिले पनि भाँडा बनाउँछन् । अहिले उनलाई छोरा राजु सिन्चुरीले पनि साथ दिएका छन् ।
५ जनालाई रोजगारी दिने उनको गोर्खाली कृषि औजारले उद्योगकै रुप लिएको छ । उनी आफ्नो काममा सन्तुष्ट मात्रै छैनन् गुणस्तरीय फलामका भाँडा उत्पादकको रुपमा समेत चिनिएका छन् । व्यापार मेलामा रहेको उनको स्टलमा राखिएका सामानहरु उपभोक्ताले मन पराएका छन् ।
जीतबहादुरका उत्पादनहरुको फिनिसिङ पनि राम्रो छ । यो त उदाहरण मात्रै हो, बुटवलको राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा देशैभरका साना उद्यमीहरुको उत्पादन प्रदर्शनी तथा बिक्री बितरण भइरहेको छ ।
मेलामा प्युठान र रोल्पाका भागो देखि टिम्बुर,मह,कोदोको पिठो,भकिम्लाको छोप, तथा गुल्मी र अर्घाखाँचीको कफी, मधेशका उत्पादन तथा जडिबुटीका विभिन्न उत्पादनहरु पनि मेलामा राखिएको छ।
‘समग्रमा कृषि मेलामा घरायसी प्रयोजनमा चाहिने सबैजसो सामानहरु रहेका छन्’, मेला आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले भने, ‘मेलामा दर्शकको सहभागिता पनि बढ्दै गएको छ। ’
बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा "प्राङ्गारिक खेतीको प्रवर्द्धन,स्वास्थ जिवनको अबलम्बन भन्ने उद्घोषसहितको राष्ट्रिय प्राङ्गारिक कृषि मेला फागुनको १० गते बिहिबारदेखि बुटवल मण्डपमा सुरु भएको हो । मेला फागुनको १४ गतेसम्म जारी रहने छ ।
बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) संरक्षक रहेको मेलाको पर्वर्द्धकमा तिलोत्तमा नगर पालिका सहित,कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेश ,कृषि उधम केन्द्र काठमाडौं ,ग्रामीण उधम तथा आर्थिक विकास आयोजना ,पशुपंक्षी तथा विकास निर्देशनालय लुम्बिनी प्रदेश ,नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना ,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेका छन ।
राष्ट्रिय वाणिज्य बैंक मेलाको मुख्य प्रायोजक हो भने प्रायोजकमा कृषि विकास बैंक,सिद्धार्थनगर नगरपालिका,सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि., देवदह नगरपालिका,कञ्चन गाउँपालिका रहेको छ ।
मेलासँग सिद्धार्थ बैंक,नेपाल बैंक लि.,शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.,ग्लोबल आइ एम इ बैंक लि.,एभरेष्ट बैंक,नेको इन्स्योरेन्स,सिटिजन बैंक,नेशनल प्याकेजिङ्ग,पश्चिम् नेपाल बस व्यवसायी प्रा.लि..,साइकृपा चिया ईण्डष्टिज,कामना सेवा विकास बैंक पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन् ।
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । सोही अनुसार यो मेला आयोजना गरिएको हो ।
पाँचदिनसम्म सञ्चालन गरिने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिईने छ । त्यस्तै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतीको प्रवद्र्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी गराईने छ ।
कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरुको पहिचान र प्रवद्र्घन, कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री बितरणमा भएका उपलब्धीको जानकारी गराईने छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रबिधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि ८८ वटा स्टल राखिएको छ ।