मेलम्ची खानेपानीको आठौं उद्घाटन, बाढीले क्षति पुर्याएको २१३ दिनपछि पुनः वितरण सुरु
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पानी वितरणको पुनः उद्घाटन गरेका छन्। दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन्।
मेलम्ची खानेपानी पथान्तरणको शुभारम्भ गरिएको यो पहिलो पटक भने होइन। यसअघि पनि विभिन्न पटक-पटक पथान्तरणको शुभारम्भ गरिएका छन्।
२०७७ असार २१ – सिन्धुपाल्चोकका तत्कालिन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण गरे। असार ३० गते पथान्तरण गरिएको पानी काठमाडौं आउन नपाउँदै गेट भत्किएर दुई जनाको मृत्यु भएको थियो।
२०७७ फागुन १० गते तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले मेलम्चीको हेडवर्क्स अम्बाथानमा पुगेर फेरि दोस्रो पटक पानी पथान्तरण गरेका थिए।
२०७७ चैत २० गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको भृकृटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन्।
२०७८ चैत २९ गते तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको हेडवर्क्स पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको उद्घाटन गरेका थिए। चौधरीले एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरेका थिए।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम भए पनि निर्वाचन आचारसंहिता लागू भएको भन्दै देउवाको कार्यक्रम स्थगित भएको थियो।
२०७९ वैशाख ११ गते चौधरीले नै उपत्यका खानेपानी लिमिटेड केयुकेएलको मीनभवनस्थित पानी ट्याङकीमा पुगेर खानेपानीको भल्भ खोली मेलम्ची खानेपानी आयोजनाको पुनः वितरण कार्यक्रमको उद्घाटन गरेका थिए।
२०७९ मंसिर २३ गते चौधरीले फेरि मेलम्चीको पानीको वितरण गरेका थिए।
२०८० माघ १ गते प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पानी वितरणको पुनः उद्घाटन गरेका छन्। दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन्।
अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने बताइएको छ। सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ।
बाढी तथा पहिरोका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो। गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो।
कुल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइँदै छ।
विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो। त्यसयता मेलम्चीको पानी काठमाडौंमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन। २१३ दिनपछि मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं ल्याउन सुरु भएको छ।
लेखकको सम्वन्धमा