पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै
बुटवल । प्रधानमन्त्रीको विषयलाई लिएर भत्किएको पुरानो पाँचदलीय गठबन्धन राष्ट्रपति चुनावलाई लिएर ब्युँतिने सम्भावना बढेको छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भएको बैठक पुरानो गठबन्धन ब्युँताउने सहमति नजिक पुगेको नेताहरूले बताएका छन् ।
४ मंसिरकाे चुनावअघि पाँचदलीय गठबन्धन थियाे भने चुनावकाे नजिकै जसपा त्याे गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेकाे थियाे । त्यसपछि गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनमाेर्चा रहेका थिए । प्रधानमन्त्रीमा सहमति नहुँदा याे गठबन्धन भत्किएर माओवादी र एमालेसहितकाे वर्तमान सातदलीय गठबन्धन बनेकाे थियाे । अहिले याे सातदलीय गठबन्धन भत्किएर पुरानै पाँचदलीय गठबन्धन फेरि ब्युँतिने सम्भावना बढेकाे हाे ।
‘पुरानो गठबन्धन ब्युँताउने कुरा करिब करिब सहमति भएको छ । हाम्रो जोड त्यसमा छ, कुरा सकारात्मक ढंगले अघि बढेको छ’, बैठकमा सहभागी एक नेताले भने । बुधबार साँझ प्रधानमन्त्रीको निवासमा भएको छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए ।
बिहीबार दलहरूबीच छुट्टाछुट्टै छलफल गरेर पाँचदलको संयुक्त बैठक बस्ने सहमति भएको समेत नेताहरूले बताएका छन् । पुरानो गठबन्धन ब्युँतिए कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तेस्रो राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बढ्ने नेताहरू बताउँछन् ।
बुधबार बालुवाटारमा छलफल हुनुअघि देउवा निवासमा कांग्रेस, नेकपा एस र जसपाबीच छुट्टा छुट्टै छलफल भएको थियो । त्यसअघि नेकपा एस सचिवालयको समेत बैठक बसेको थियो । यही १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारको मनोनयन गर्नुपर्ने कार्यतालिका छ भने २५ फागुनमा चुनाव हुनेछ । चुनावको मिति नजिक आए पनि उम्मेदवार र गठबन्धनबारे बुधबार रातिसम्म स्पष्ट तस्वीर भने आइसकेको छैन।
लेखकको सम्वन्धमा