सिद्धबाबा क्षेत्रको बाटो हिड्दै हुनुहुन्छ भने हेर्नुहोस यो समयमा बाटो बन्द हुदैछ
बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्ड दैनिक आठघण्टा बन्द हुने भएको छ। वर्षा होस् या हिउँदयाम जुनसुकै समयमा पनि झर्ने पहिरोका कारण असुरक्षित बनेको बुटवलदेखि दोभानसम्मको सडकलाई सुरक्षित बनाउन सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण हुंदै छ। सोहि सुरुङमार्ग निर्माणको लागि डाईभर्सन बनाउन सनिवारदेखि दैनिक आठ घण्टा उक्त सडकखण्ड बन्द हुने भएको हो।
सिद्धबाबा सुरुङ मार्ग आयोजना बुटवलले शुक्रबार सूचना प्रकाशित गरी फागुन १३ गतेदेखि २७ गतेसम्म दुई पटक गरेर दैनिक ८ घण्टा सडकमा आवागमन बन्द गर्न लागिएको जनाएको छ। सूचना अनुसार फागुन २७ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी साधनको आवागमनलाई पूर्णरुपमा बन्द गरिने छ।
सडक बन्द हुने समयमा पाल्पातर्फबाट आउने सवारी साधनलाई जडिबुटीचोक, सत्यवती जाने बाटो र पाल्पाको तिनाउ गाउँपालिका ३ मा रोकेर राख्ने व्यवस्था मिलाइएको छ। यस्तै बुटवलतर्फबाट जाने सवारी साधनहरु चिडियाखोला र तल्लो सिद्धबाबा मन्दिर नजिकै रोक्न कार्यालयले आग्रह गरेको छ।
अत्यावश्यक सेवाका साना तथा मझौला सवारी साधनहरुले बेलबास नुवाकोट दोभान सडक प्रयोग गर्न आग्रह गरिएको छ। सुरुङमार्ग निर्माणको तयारीको लागि रामापिथेकस पार्क नजिकै आधारस्थल बनाउन डोजरले खन्न थालेको छ।
अहिले निर्माण कम्पनीले साइट क्याम्प बनाउने, वाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्सटल गर्ने, क्रसर प्लान्ट बनाउने लगायतका पूर्वतयारीको काम गरिरहेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख होम बहादुर एसीले बताए।
डाईभर्सन निर्माणसंगै वाटरट्यांक र हेलिप्याड बनाउने काम पनि संगसंगै अगाडी बढाईने छ। सडक बन्द हुने भएपछि बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखांची, बाग्लुङ, कास्की, पर्वत लगायतका जिल्लामा जाने सवारीसाधन प्रभावित हुने भएका छन्। सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ठेक्का सम्झौता गरि काम अगाडी बढाएको हो।
१ हजार १ सय २६ मिटर दुरी रहेको सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयां रकममा ठेक्का सम्झौता गरिएको छ।
लेखकको सम्वन्धमा