भत्किँदै पुस १० को गठबन्धन, यस्तो बन्दैछ अर्को गठबन्धन
बुटवल । गत पुस १० मा बनेको एमाले– माओवादी नेतृत्वको गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने तयारी भएको छ । निर्वाचन अघिको कांग्रेस-माओवादीको पुरानो गठबन्धनलाई ब्युँताएर त्यसमा अन्य दल थप गर्ने तयारी छ ।
पुरानो गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी थपिने भएका छन् । शुक्रबार बिहान बालुवाटरमा बसेको बैठकले पुरानो गठबन्धन ब्युँताउने अनौपचारिक सहमति गरेको थियो । सोही अनुसार केहीबेरपछि औपचारिक सहमतिका लागि बैठक बस्दैछ ।
बैठकमा उन्मुक्ति, लोसपा र जनतमलाई पनि बालुवाटार बोलाइएको छ । जनमत पार्टीका नेता एवम् खानेपानी मन्त्री अब्दुल खानले आफूहरूलाई ६ बजे बालुवाटार बोलाइएको बताए । ‘छलफलका लागि ६ बजे बालुवाटार बोलाइएको छ,’ उनले भने ।
नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि आफूलाई बालुवाटार बोलाइएको बताइन् । कांग्रेस-माओवादीको गठबन्धनमा सामेल हुन लागेको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘ठूला दलको निर्णयमा भर पर्छ ।’
कांग्रेस-माओवादी गठबन्धनमा ८ वटा दल सहभागी हुने नेताहरूको दाबी छ । गठबन्धनमा निर्वाचनअघि कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र जनमोर्चा थिए । जसपा भने निर्वाचनअघि एमालेसँग चुनावी तालमेल गर्न पुगेको थियो । अब जसपा पनि पुरानैमा फर्किने तयारी छ ।
अब ८ वटा दल मिलेर गठबन्धन बनाउने तयारी भएको नेकपा एसका एक नेताले भने । ‘आठ दलको गठबन्धन बन्छ । एमाले, राप्रपाबाहेकका दलको सरकार बन्ने सम्भावना छ । सबै विषयमा आज साँझ सहमति हुन्छ,’ ती नेताले भने ।
उनका अनुसार गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी छ । राष्ट्रपतिमा दाबी गरेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई केही समय प्रधानमन्त्री बनाउने गरी सहमति गर्ने अन्तिम तयारी छ ।
लेखकको सम्वन्धमा