कपिराइट नलाग्ने फोटो चाहियो ? यी हुन् उपयोगी वेबसाइट
<काठमाडौँ । हामीलाई बनिबनाउ फोटो धेरै नै आवश्यक परिरहेको हुन्छ । कुनै पनि परियोजनामा काम गर्दा निःशुल्क उपलब्ध हुने उच्च गुणस्तरका फोटोको भूमिका धेरै हुन्छ । यस्तो फोटोका लागि गुगल वा अन्य सर्च इन्जिनमा खोज्दा खोजे अनुरूपको फोटो नभेटिन सक्छ ।
यसरी निःशुल्क उच्च गुणस्तरका फोटो उपलब्ध गराउने वेबसाइट थोरै भएकाले आवश्यक पर्दा पाउन सकस नै पर्छ । आज हामी त्यस्ता उच्च गुणस्तरका फोटो कहाँबाट निःशुल्क पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछाैँ ।
कपिराइट फ्री फोटोले कसरी गर्छ काम ?
कतिपय वेबसाइटले निजी प्रयोगका लागि फोटो डाउनलोड गर्ने अनुमति दिएका हुन्छन् । आफ्नो डिभाइसको वालपेपर राख्दा त्यस्ता फोटो काम लाग्छ । तर, त्यस्ता फोटो व्यावसायिक प्रयोजनका लागि भने प्रयोग गर्न पाइँदैन ।
वेबसाइट, युट्युब भिडिओ वा फेसबुकमा त्यस्ता फोटो राख्दा कपिराइट लाग्न सक्छ । तपाईँले युट्युब भिडिओ वा वेबसाइटमा प्रयोग गर्न क्रियटिभ कमन्स लाइसेन्स भएका फोटो प्रयोग गर्नुपर्ने हुन्छ ।
आज हामी त्यस्ता प्लेटफर्मको बारेमा जानकारी दिँदैछौँ, जसले तपाईँलाई उच्च गुणस्तरका फोटो प्रयोग गर्ने अनुमति दिन्छन् । यस्ता फोटो प्रयोग गरेवापत कुनै पनि क्रेडिट दिनु पर्दैन ।
उच्च गुणस्तरका फोटो निःशुल्क प्रयोग गर्न सकिने उपयुक्त साइटमध्ये एक हो, पिक्साबे । यसमा भएका चार लाख बढी फोटोले तपाईंको आवश्यकता पूरा गर्न सक्छन् ।
तपाईंले पिक्साबेमा उपलब्ध जुनसुकै फोटो निर्धक्कसँग प्रयोग गर्न सक्नुहुन्छ । व्यक्तिगत र व्यावसायिक प्रयोगका लागि यहाँ उपलब्ध सम्पूर्ण फोटो निःशुल्क प्रयोग गर्न सकिन्छ ।
आफ्नो ब्लग वा कुने डिजिटल प्रयोजनका लागि उच्च गुणस्तरका फोटो प्रयोग गर्न सकिने साइटमध्येको एक हो, अनप्लाश । तपाईंले यस वेबसाइटमा गई आफूलाई आवश्यक परेका फोटो खोज्न सक्नुहुन्छ ।
तपाईंले त्यहाँ भएका कन्ट्रिब्युटरलाई सब्स्क्राइब गर्दा दैनिक एउटा फोटो पठाउने गर्छ ।
अनप्लाशमा फोटो निःशुल्क उपलब्ध गराउने र कपिराइट फ्री बनाउने सर्तमा अपलोड गरिएका हुन्छन् । भन्नुको अर्थ, तपाईंले निःशुल्क व्यक्तिगत वा व्यावसायिक परियोजनका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
यसमा फोटोग्राफरलाई वा अनप्लाश कसैलाई क्रेडिट दिन पर्दैन । साथै यसमा उपलब्ध हुने फोटोमा वाटरमार्क (फोटोग्राफरको चिन्ह) समावेश हुँदैन ।
स्टकस्नापमा उपलब्ध हरेक फोटो निःशुल्क पाउनुका साथै कपिराइट फ्री हुने गर्छन् । यस प्लेटफर्ममा दैनिक सयौँ फोटो अपलोड हुने गर्छ ।
यस साइटमा तपाईंले सो फोटो कहिले अपलोड भएको हो र त्यसमा कति भ्युज आएको छ भन्ने पनि हेर्न सक्नुहुन्छ । यदि तपाईं फोटोग्राफर हुनुहुन्छ भने यस प्लेटफर्ममा फोटो अपलोड गरेर योगदान दिन सक्नुहुन्छ ।
फ्लिकर निःशुल्क फोटो पाउन सकिनेमध्येको एक उपयुक्त साइट हो । तर, याद गर्नुहोस् यसमा विभिन्न आठ किसिमका कपिराइट लाइसेन्स क्याटेगोरी छुट्टाइएको हुन्छ ।
फोटो अपलोड गर्ने व्यक्तिले फोटो डाउनलोड नहुने बनाएको हुनसक्छ भने कतिपय अवस्थामा फोटोमा वाटरमार्क राखेको हुन्छ । तर, वाटरमार्कको जानकारी नभएको खण्डमा यो साइट प्रयोग नगर्न सुझाव गरिन्छ ।
उच्च गुणस्तरका फोटो निःशुल्क प्रयोग गर्न सकिने अर्काे उपयुक्त साइट हो, पिक्सेल्स । यसमा हरेक फोटो स्टक कलेक्सनमा दैनिक १० ओटा उच्च गुणस्तरका फोटो अपलोड हुने गर्छ, जसमा दुई हजार ७०० भन्दा बढी कलेक्सन छन् ।
पिक्सेल्समा उपलब्ध हरेक फोटो निःशुल्क व्यक्तिगत वा व्यापारिक परियोजनका लागि प्रयोग गर्न सकिन्छ । तपाईंले खोजेका उच्च गुणस्तरका फोटो यस साइटमा पाउन सकिने भएकाले पिक्सेल्समा उपलब्ध फोटो निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ ।
एकपटक तपाईँले निःशुल्क रजिस्टर गरेको खण्डमा फ्रिरेन्जमा भएका फोटो डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ । यस साइटमा हुने हजारौँ हाइ-रेजोलुसनलका फोटो निःशुल्क प्रयोग गर्न सकिन्छ ।
यस वेबसाइटमा भएका सबै फोटो व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिने फ्रिरेन्जले उल्लेख गरेको छ । फोटोग्राफरका लागि फ्रिरेन्जले गुगल एडसेन्सबाट आएको शुल्क दिने गर्छ । फोटोग्राफरका लागि यो प्लेटफर्म पनि उपयुक्त नै हुन्छ ।
लाइफ अफ पिक्समा भएका सुन्दर फोटोहरू पनि निःशुल्क रूपमा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।
त्यस्तै भिडिओका लागि तपाईँ लाइफ अफ भिड्स वेबसाइट प्रयोग गर्न सक्नुहुन्छ । यसमा भएका हजारौँ भिडिओलाई आवश्यकता अनुसार विभिन्न व्यावसायिक वा व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
यदि तपाईँ आफ्नो प्रोजेक्टका लागि पुराना तथा ऐतिहासिक फोटो खोजिरहनु भएको छ भने विकिमेडिया उपयुक्त प्लेटफर्म हुनसक्छ । विकिपेडियाले भण्डारण गरेका पुराना तथा नयाँ फोटोहरू निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ ।
यदि तपाईँ वेबसाइट डिजाइन गर्दै हुनुहुन्छ भने वेबसाइट आकर्षक देखाउन स्तरीय फोटो आवश्यक परेको हुनसक्छ । त्यसका लागि कबुमपिक्स उपयक्त हुन्छ ।
यसले पनि अन्य प्लेटफर्म जस्तै लाखौँ फाेटो निःशुल्क प्रयोग गर्ने अनुमति दिन्छ ।
यदि रोयल्टी फ्री र कपिराइट फ्री फोटो खोजिरहनु भएको छ भने ओपनभर्स तपाईँको रोजाइमा पर्न सक्छ । वर्डप्रेसले विकास तथा व्यवस्थापन गरेको यो टुल कपिराइट फ्री फोटोका लागि परिचित छ ।
त्यस्तै कपिराइट फ्री फोटो पाउन चाहनुहुन्छ भने ग्रेटिसोग्राफी, बर्स्ट, लिब्रेशट, नेगेटिभ स्पेस तथा रिशटजस्ता वेबसाइट पनि प्रयोग गर्न सक्नुहुन्छ ।
लेखकको सम्वन्धमा