२६ बर्षअघि थालिएको झुम्साखोलाको पानीकाे योजना अझै अधुरो
बुटवल । बुटवलमा हिउँदको समयमा खानेपानीको समस्या अझै बढी हुन्छ । सुख्खानगर, दिपनगर लगाएतका क्षेत्रमा अहिले पनि समयमै पानी आउँदैन् । पानी भर्न राती उठ्नुपर्ने बाध्यता अहिले पनि छ ।
खानेपानी समस्या समधान जहिल्यै चुनावी एजेण्डा बन्छ । तर चुनाव पछि यत्तिकै सेलाउँछ । त्यसको ज्वलन्त उदाहरण हो, पाल्पाको खानेपानी बुटवलमा ल्याउने झुम्सा खानेपानी योजना ।
हरेक वर्ष गर्मी लागेसँगै बुटवलको दीपनगर, सुक्खानगर, बटौली, बेलबासलगायत क्षेत्रका धारामा पानी निकै कम आउँछ । त्यति मात्र होइन वर्षा लागेपछि भने बुटवलवासीले धमिलो पानी खानैपर्ने बाध्यता छ ।
झुम्सा खानेपानी आयोजना मार्फत यो समस्या समाधान गर्ने वाचा वि.सं. २०५२ यताका सबैजसो निर्वाचनमा प्रायः सबै दल र ठूला–साना नेताबाट गर्ने गरिएको छ तर पनि बुटवलवासीले सफा र स्वच्छ खानेपानी पाएका छैनन् । पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवलमा जनप्रतिनिधिले वाचा बिर्सेकोमा स्थानीयवासी खिन्न छन् ।
बुटवलको खानेपानीको समस्या समाधानका लागि २०५२ सालअघि नै ४ करोड लागतको सिस्ने खानेपानी आयोजना सुरू गरिएको थियो। उक्त आयोजना असफल देखिएपछि त्यसलाई झुम्सा खानेपानी आयोजनाको रूपमा अगाडि बढाइयो। २०५२ सालदेखि सुरू गरिएको झुम्सा खानेपानी आयोजना पनि अहिलेसम्म अलपत्र अवस्थामा छ ।
बुटवल रामफेदीदेखि साढे १३ किलोमिटर टाढा रहेको पाल्पाको तिनाउ गाउँपालिकाको झुम्साबाट ल्याइने उक्त खानेपानी आयोजना सुरूमै पाइप खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अलपत्र रह्यो।
पाँच वर्षमा सम्पन्न गर्ने भन्दै सुरू गरिएको उक्त आयोजना सम्पन्न भएको भए बुटवलमा दैनिक ५० लाख लिटर खानेपानीको अभाव पूर्ति हुन्थ्यो। करोडौं रुपैयाँ खर्च भइसके पनि खानेपानी संस्थानले खरिद गरेका पाइपमा अहिले खिया लागेका छन्।
२०७२ सालमै खानेपानी संस्थानले झुम्सा खानेपानी योजनाको काम ७० प्रतिशत सकिएको बताएको थियो।
त्यतिबेला पाइपलाइन विस्तार, इन्टेक (खोलाबाट पानी संकलन गर्ने पोखरी) निर्माणका काम भइरहेका थिए। २०७३ साउनमा तिनाउमा आएको बाढीले इन्टेक बगाइदियो। बाढीले ५० लाखभन्दा बढी लगानी गरेर बनाइएको इन्टेकसँगै झुम्साको खानेपानी छिट्टै पिउन पाउने पर्खाइमा रहेका बुटवलवासीको सपना पनि बगाइदियो।
इन्टेक बगाएपछि अनुगमन गरेको प्राविधिक टोलीले त्यसको डिजाइन र प्रयोग गरिएका कमसल सामग्रीका कारण बाढीले बगाएको निष्कर्ष निकालेको थियो।
टोलीका एक सदस्यका अनुसार आयोजनाको मुख्य बाँधमा निर्माण गरिएको इन्टेकमा सामान्य घरमा प्रयोग गरिने १२ एमएम र १६ एमएमका फलामे डण्डी प्रयोग गरिएका थिए भने इन्टेकको संरचनामा ८ इन्च ग्याप राखेर डण्डीको जाली बनाइएको थियो।
फेरि २०६७ सालमा १९ करोड ५६ लाख लागतमा २ वर्षमा सक्नेगरी बुटवल खानेपानी सुदृढीकरण आयोजना सुरु भएको थियो । झन्डै साढे १४ करोड रुपैयाँ खर्च भइसकेको आयोजना २०७४ को बाढीले मुहान बनाएको बांध भत्काएपछि अलपत्र बन्यो ।
दैनिक दुई करोड ५० लाख लिटर पानी ल्याउन ६ वर्षअघि देखि फेरि ६ अर्ब ३५ करोड ३५ लाखको लागतको आयोजनाको लागि बाँध लगायतका संरचना निर्माणमा ७३ करोड ६४ लाख खर्च हुने छ। पानी प्रशोधन प्रणाली, भण्डारण ट्यांकी, वितरण प्रणालीलगायत संरचना बनाउन ५ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बीचमा काम भएपनि प्राकृतिक प्रकोपले असफल भएको र अहिले सुधार गरेर काम अघि बढेको बताए । उनले ०८० बैशाखमा बुटवलमा पानी झार्ने गरी अहिले काम भएको बताए ।
यो आयोजनामा अहिलेसम्म ११ करोड खर्चेर ड्याम बनेको छ । झुम्साको पानी रामफेदी ल्याएर शुद्धीकरण प्लान्ट बनाइ ६ वटा ओभरहेड ट्याङ्कीमार्फत वितरण गर्ने योजना छ ।
तर, पाइप विस्तार र स्थानीयको मुआब्जा विवाद अझै सुल्झिएको छैन । पाइप खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेसंगै २५ करोड मुल्यका पाइप ६ वर्षदेखि शिवनगर जंगलमा अलपत्र छन ।
आफैंले काम गर्न खोज्दा योजना अलपत्र परेको आरोप खानेपानी संस्थानलाई लागेको छ । बुटवलमा दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग छ । संस्थानले २ करोड ४० लाख लिटर मात्रै वितरण गर्ने गरेको छ ।
लेखकको सम्वन्धमा