ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गर्यो प्रादेशिक प्रदर्शनी, बुटवलमा मंगलबार देखि सम्मेलन हुँदै
बुटवल । काठमाडौं केन्द्रित मात्रै प्रदर्शनी गर्दै आएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बुटवलमा प्रादेशिक ललितकला प्रदर्शनी गर्न थालेको छ।प्रादेशिक ललितकला प्रदर्शनी २०८० नाम दिइएको प्रदर्शनी बुटवलमा यही फागुन २२ गतेदेखि २६ गतेसम्म हुन लागेको हो। जसको सहआयोजकको रुपमा नेपाल व्यवसायिक कलाकार संघ रहेको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बुटवलमा आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवम् लुम्बिनी प्रदेश प्रादेशिक प्रदर्शनीका संयोजक प्राज्ञ दिनेश्वर महतोले बुटवलमा यही फागुन २२ गतेदेखि २६ गतेसम्म प्रदर्शनी हुन लागेको बताए ।
‘सामाजिक रुपान्तरण ललितकलाको अभियान’ भन्ने मुल नारालाई अघि सार्दै कलामा जागरण ल्याउनुका साथै रैथाने कला,सीप र ज्ञानलाई तल्लो तहसम्म पुर्याउन र ललितकलाको संरक्षण, प्रबद्धर्न र सर्वाङ्गीक विकास गर्न प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।
हाटबजारलाईनमा रहेको रुपन्देही उद्योग संघको सभाहलमा हुने प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय २४ जना कलाकारहरुका २ सय कलाकृतिहरुलाई प्रदर्शन गर्ने संयोजक दिनेश्वर महतोले जानकारी दिए।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले उद्घाटन गर्ने प्रदर्शनीमा प्रतिष्ठानले प्रादेशिक प्रर्दशनीमा छनौट भएका प्रतयोगी कलाकृतिहरुलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गरिने जनाएको छ। लुम्बिनी प्रदेशका सदस्य सचिव एच.बी. रम्तेलले कला, साहित्य, संस्कृति,धर्म,संस्कार, जातजाती र भाषा झल्किने ऐतिहासिक कलाकृतिहरुलाई समावेश गर्न यो प्रदर्शनी गरिएको बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले यहीँ माटोमा हुर्किएका कलाकारहरुले गरेको मेहनत देखाउदै कलाकारहरुलाई सकृय बनाउने उद्देश्यले आयोजना गरिएको उल्लेख गरे।
प्रदर्शनीमा आउनेहरुमध्यबाट उत्कृष्टलाई नगद सहित पुरस्कृत गरिने छ भने प्रादेशिक प्रदर्शनीबाट छानिएका कलाकृतिहरुलाई २०८१ जेठ १५ गते राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराई सातै प्रदेशबाट छानिएका कलाकृतिहरुबीच प्रतिस्पर्धाका आधारमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार नगद पुरस्कार र सम्मान गरिने छ।
प्रदर्शनी सम्पन्न गर्नका लागि संयोजक प्राज्ञ दिनेश्वर महतोको संयोजकत्वमा २१ सदस्यीय मुल आयोजक समिति, ५ सदस्यीय कार्यकारी समिति,९ वटा उपसमिति गठन गरी सहसंयोजक,सदस्य सचिव र सदस्य गठन गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । यो समितिले प्रदर्शनीको बीचमा कवि गोष्ठी, कलाकारहरुका बीचमा कला सम्बन्धी अन्तरक्रिया र विभिन्न विद्यालयका बालबालिका बीच चित्रकला कार्यशाला गरिनेछ ।
पत्रकार सम्मेलन नेपाल आर्ट एशोसियशन रुपन्देही अध्यक्ष दिलीप रसाइलीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जंग बहादुर पहाडीले गरेका थिए ।
लेखकको सम्वन्धमा