काङ्ग्रेस रुपन्देहीले गर्यो सुरजपुरा घटनाका सहिद आलोक र चौधरीको स्मृती सभा गरियो
बुटवल । सहिद यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मृति सभा गरिएको छ । नेपाली काँग्रेसको पार्टी संगठनका क्रममा २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा भएको घटनामा घाईते भई दिवंगत भएका रुपन्देहीका यादवनाथ आलोक र रामप्रसाद चाधरीको मंगलबार देवदहको सुरजपुरामा नेपाली काँग्रेस रुपन्देहीले ४० औं स्मृति सभा गरेको हो ।
२०३६ सालको जनमत संग्रहमा बहुदलले हारेपछि पार्टी सिथिल जस्तै बनेको समयमा पार्टीलाई पुनजाग्रित गरि प्रजातन्त्र प्राप्तको आन्दोलनलाई बल पुर्याउन नेपाली काँग्रेसका तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोईराला सहित नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सैलजा आचार्य लगायतको टोली देश दौडाहामा निस्किएको थियो ।
देश दौडाहामा रहेको टोलीलाई नेपाली काँग्रेस रुपन्देहीले तत्कालिन रुपन्देहीका सभापति पुष्पानन्द गिरीको घर देवदह नगरपालिका वडा नं. ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बहुदल विरुद्धको समुहले आक्रमण गरेको थियो ।
जहाँ यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाउनु पर्यो भने शेरबहादुर देउवाको ओठमा काटेको थियो । उक्त घटनामा देउवा सहित २७२ जना घाईते भएका थिए । बहुदल विरुद्धको समुहले गरेको सांघातिक आक्रमणबाट घाईते भएका आलोक र चौधरीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल (साविक लुम्बिनी अञ्चल अस्पताल) बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना कसरी भयो ?
पार्टीका नेताहरु देश दौडाहामा थिए । महामन्त्री गिरिजाप्रसाद कोईराला सहितका नेताहरु २०४० फागुन २० गते रुपन्देहीमा आउने कार्यक्रम थियो । पार्टी गतिविधि गर्न सहज थिएन । पार्टी जिल्ला समितिले सभापति पुष्पानन्द गिरीको घरमा कार्यक्रम तय गर्यो ।
विहान ८ बजे अगाडि नै पार्टीका नेताहरु गिरीको घरमा जम्मा भईसकेका थिए । केन्द्रीय नेताहरु बिहान ८ बजे नै देवदहको खैरेनीमा आउने समय थियो । सभापतिको घर सुरजपुरामा जम्मा भएका नेताहरु स्वागतको लागि खैरेनी पुगे । तर केन्द्रबाट आएका नेताहरु आउन समय लाग्यो । १० बजेतिर मात्रै आए । महामन्त्री गिरिजाप्रसाद चढेको गाडि दाउन्नेमा विग्रिए छ र अर्को गाडि गरेर आउँदा समय लागेको रहेछ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण स्मरण गर्नुहुन्छ–‘त्यसपछि सुरजपुरा पुगेर कार्यक्रम सुरु भएको थियो, एकाएक उनीहरुले आक्रण गरे ।’ खुकुरी लाडि लगायतका घरेलु हतियार लिएर आएका उनीहरुले निरन्तर २ घण्टासम्म आक्रमण गरे । कार्यक्रममा सहभागि भएका सबै घाईते भए, महामन्त्री सहितका केही नेताहरुलाई घरभित्र माथिल्लो तलामा लगेर लुकाईयो । तर उनीहरुले घरमा तलबाट आगो लगाईदिएर त्यहाबाट निस्किए । त्यस्तो विभत्स घटना देखेपछि गाउँका दिदिबहिन आएर आगो निभाईदिएर आफूहरु त्यहाबाट निस्किएको परिवारका सदस्य पुष्पानन्द गिरीका साईला छोरा शक्तिप्रसन्न गिरीले बताउनु भयो । उहाँका अनुसार त्यसबेला नेतृ सैलाजा आचार्यले आफ्नो साडि च्यातेर घाईते भएकाहरुको घाउमा बाधिदिनु भएको थियो ।
उहाँका अनुसार त्यसपछि घाईते सबैलाई लडियामा राखेर मंगलापुर निकालियो । मंगलापुरमा काँग्रेस नेता गोपालमान श्रेष्ठको ट्रकमा राखेर बिरामी सबैलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर उपचार गरिएको थियो । त्यसबेला काँग्रेस नेता सैलेन्द्र अधिकारीको बुटवलबाट पोखरा हुँदै काठमाण्डौ चल्ने बस थियो । यहाँ उपचार नहुनेलाई उहाँको बसमा राखेर काठमाण्डौ लगेर उपचार गरिएको उहाँले स्मरण गर्नुहुन्छ ।
घटना घटेको घरलाई संग्रहालय बनाउन सुझाव
स्मृतिसभामा बोल्ने वक्ताहरुले उक्त ऐतिहासिक घटना भएको घरलाई संग्रहालय बनाउन सुझाव दिएका छन् । प्रजातन्त्र प्राप्तीको लागि सुरजपुरा घटना प्रस्थान विन्दु भएको बताउँदै त्यसलाई संग्रहालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले उक्त घर नेपाली काँग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसावले ऐतिहासिक भएको बताउँदै कुनै न कुनै रुपमा संरक्षण गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘यो हाम्रो लागि मात्रै नभएर देशकै एउटा गहना हो ।’
नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले उक्त घरलाई संग्रहालय बनाउने विषयमा धेरै प्रयासहरु भएको बताउँदै सबैको एकतावद्ध प्रयासको खाँचो औंल्याउनु भयो ।
नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले काँग्रसलाई सिध्याउने मण्डलेहरुको अभियानका क्रममा ४० सालको सुरजपुरा घटना घटाईएको बताउनु हुन्छ । उहाँले मण्डलेहरुलाई कतै राजाले काँग्रेससंग मिलेर आफूहरुलाई साथ छोड्ने त हैन भन्ने भयले काँग्रेसलाई समाप्त पार्नको लागि आक्रमण गरिएको विश्लेषण गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरी, सहिद पत्नी सीता न्यौपाने, रुपन्देही क्षेत्र नं. १ का क्षत्रीय सभापति हिराबहादुर खत्री, काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, सचिव परमानन्द भट्टराई, देवदह नगर सभापति गुणाखर भुर्तेल, वडा नं. ३ का वडा सभापति थमबहादुर बुढाथोकीले भनाई राख्दै उक्त घरलाई संग्रहालय बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
लेखकको सम्वन्धमा