अन्तरास्ट्रिय महिला दिवस : लुम्बिनी प्रदेशलाई चम्काएका महिला नक्षेत्रहरु
बुटवल। पहिलेदेखि नै घरभित्र मात्रै सिमित रहेका महिलाहरु यतिबेला बाहिर अर्थात समाजमा आएर अभिन्न अंगको रुपमा काम गर्दै आईरहेका छन् । महिलाहरुले केही गर्न सक्दैनन भन्नेहरु नै यतिबेला महिलाहरुबाट समृद्धि संभव छ भन्दै समान सहभागिताका कुराहरुलाई उठाउन थालेका छन् ।
देश तथा बिदेशमा नै पुगेर नेपाललाई पहिचान दिलाउन सक्ने महिलाको पनि कमि छैन् । समाजले महिलाप्रति गर्ने ब्यवहार तथा सम्मान गराउनको लागि पहल गर्ने महिलाहरु यतिबेला उत्प्रेरकको रुपमा काम गरेको पाईन्छ ।
कानुन निर्माण गर्ने स्थान सम्म पुग्ने बाटो राजनिति होस वा प्रशासनिक नेतृत्व गर्ने क्षेत्र । आयमूलक कार्य उद्यम क्षेत्र, सबैको स्वास्थ्यको ध्यान राख्ने क्षेत्र होस वा बित्तिय क्षेत्र तथा शुरक्षा ।
यी क्षेत्रमा आफुलाई अब्बल बनाउँदै पहिलो भूमिकामा महिलाहरु छन। आज ११४ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा समाज परिवर्तनको क्षेत्रमा काम गरिरहेका महिलाहरुको कथालाई हामीले प्रस्तुत गर्दैछौँ । यो वर्षको ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने नारासहित विश्वभर विभिन्न कार्यक्रम गरि आज (मार्च ८) मनाईदै छ।
जसले आफ्नो क्षेत्रवाट उच्च योगदान गर्दै आ-आफ्नो परिचय जनस्तरमा समेत राम्रो छाप छोडेका छन। यी पात्रहरूले उत्प्रेरकको रुपमा काम गरिरहेका छ। यी पात्र उदाहरणीय हुन। यस्ता पात्र समाजमा धेरै छन। उनीहरुलाइ अनुसरण गर्दा प्रदेशको लागि भावी कर्णधारहरु समेत उत्पादन भईरहेका छन।
प्रदेशमै प्रत्यक्षमा जित्ने एकमात्र महिला सासद कृष्णा केसी, निजामति सेवाबाट प्रदेशको पहिलो महिला मुख्य सचिव बन्न सफल राधिका अर्याल, नेपाली उत्पादन अल्लो र यसका उत्पादनलाई चिनाउँदै हिडेकी उद्यमी प्रेम कुमारी पुन, महिला राष्ट्रिय कृकेट टिमका कप्तान ईन्दु बर्मा र बैंकिङ तथा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी सिमा बनको क्रियाशिलतालाई उल्लेख गरिएको छ।
०००
प्रदेशसभामा मै प्रत्यक्षमा जित्ने एकमात्र महिला जनप्रतिनिधि सासद कृष्णा केसी
घर सम्हाल्ने मात्रै होइन कानुन निर्माण एवं कार्यान्वयन गर्ने स्थानमा महिलाको दक्षता कायमै छ भन्ने एक उदाहरण हो अहिले लुम्बिनी प्रदेशबाट प्रदेश सभामा प्रत्यक्षमार्फत जित्ने एकल महिला हुन कृष्णा केसी।
बाँकेबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य कृष्णा केसी लुम्बिनी प्रदेश सरकारमा निवर्तमान सहरी विकासमन्त्री हुन। केन्द्रमा सत्ता साझेदार दल परिवर्तन भएपछि काङ्ग्रेस नेतृत्वको सरकारका मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले उनलाई यहि फागुन २३ गते बर्खास्त गरेका थिए।
लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्ष निर्वाचित एकमात्र महिला सांसद पनि हुन् उनि। बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट दोस्रो कार्यकालका लागि केसी निर्वाचित भएकी थिइन् ।
राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व गरिए पनि प्रत्यक्ष निर्वाचित हुने नगन्य महिलामध्ये उनी पर्छिन् ।
उनी नेकपा (एमाले)का लीला गिरी नेतृत्वको सरकारमा पनि मन्त्री बने पनि मन्त्रालय चित्त नबुझेपछि कृष्णाले राजीनामा दिएकी थिइन् । उनी तीन दशकदेखि माओवादी केन्द्रको राजनीति गर्दै आएकी थिइन् ।
‘नमूना’ उपनामले परिचित कृष्णा प्रदेशसभा संसदीय राजनीतिमा माओवादीभित्र परिपक्व सांसदको रूपमा चिनिन्छिन् ।
प्रदेशसभाका ५२ क्षेत्रमध्ये माओवादी ५ क्षेत्रमा खुम्चिँदा उनको जीतलाई फरक तस्वीरको रूपमा हेरिएको थियो । निर्वाचित भएपछि आफूजस्ता महिलाले पुरुषको तुलनामा ठूलो संघर्ष गर्नुपर्ने उनको अनुभव सुनाउँछिन् । उनी महिलाहरु चुलो चौकोबाट उठेर बाहिर निस्किनुपर्ने बताउछिन् । उनले महिलाहरु हरेक गतिविधिमा सक्षम हुनुपर्ने बताउदै हरेक अवस्थाको सामना गर्दै नेतृत्वदायी भूमिकामा जान तयार हुनुपर्ने उल्लेख गरिन।
कृष्णा अहिले माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह–इन्चार्ज हुन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की ४४ वर्षीया कृष्णा विसं २०४९ सालदेखि नै माओवादी राजनीतिमा लागेकी हुन् । उनको परिवार ४० को दशकतिर साविक रुकुम (हाल रुकुम पश्चिम)बाट बसाइँसराइँ गरी बाँके झरेको थियो । माओवादीको शहरकेन्द्रित राजनीतिमा नेतृत्वदायी भूमिका खेलेकी साहसी नेत्रीको रूपमा परिचित थिइन् कृष्णा ।
०००
निजामति सेवाबाट प्रदेशको मुख्य सचिव राधिका अर्याल
२०८० साल कार्तिक महिनामा सचिव पदमा बढुवा भएर लुम्बिनी प्रदेश प्रमुख सचिव बन्न सफल भएकी छन राधिका अर्याल । कनिष्ठ सचिवबाट बढुवा लगत्तै उनी लुम्बिनीको प्रमुख सचिवमा पदस्थापन भएकी थिइन् ।
उनले १२ वटा जिल्ला कार्यक्षेत्र रहेको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय तथा कार्यालय गरेर करिब दुई सय कार्यालयमा कार्यरत १४ सहसचिवसहित चार हजार कर्मचारीको नेतृत्व गरिरहेकी छन् ।
विसं २०६१ माघमा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतमा प्रवेश गरेकी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आठ वर्ष बिताइन् । शाखा अधिकृतबाट उपसचिव नभएरै उनी आठ वर्षपछि २०६९ चैतमा एकै पटक खुला प्रतिस्पर्धाअन्तर्गत महिलातर्फ सहसचिवमा नाम निकाल्न सफल भइन् ।
सहसचिवको ११ वर्षे कार्यकालयमा उनले करिब पाँच वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा महिला सशक्तीकरण महाशाखा प्रमुख रहेर काम गरिन् । त्यसबाहेक वातावरण विभागमा उपमहानिर्देशक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रशासन तथा योजना महाशाखा प्रमुख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखसमेत भइन् ।
त्यसपछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको जिम्मेवारीमा रहेर काम गरिन् । सहसचिव रहँदा नै उनलाई सरकारले गत भदौ १२ गते लुम्बिनी प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको थियो । गत कात्तिक १६ गते उनी सचिवमा बढुवा भएर लुम्बिनी प्रदेशको प्रमुख सचिवमा छिन् ।
सचिव अर्यालले महिलाहरूलाई प्रमुख पदमा स्विकार्न अझै समस्या देखिनेगरेपनि आफ्नो काम र क्षमताले गर्दा आफू यहाँसम्म आईपुगेको बताईन। उनले महिलाजनलाई कसैले कतै केही पद दिन्छकी भन्नुभन्दा पनि आफू आफुले चाहेको पदमा योग्य वन्ने र दाबी गर्न आग्रह गर्दै क्षमताकै कारणले हरेक क्षेत्रमा अवसर प्राप्तिमा सहज हुने बताईन।
उनी भन्छिन,’महिलालाई प्रमुख पदमा मान्न गाह्रो हुने समाज छ, तर त्यसलाइ आफ्नो क्षमताले चिर्न सक्नु पर्छ। कसैले केही पद देला र लिगौला भन्दापनि त्यो पदको लागि आफू दक्ष बनेर दाबी गरेमा हरेक क्षेत्रमा अवसर पाइन्छ।’
समाजमा भईरहेका राम्रा कामलाई निरन्तरता दिदै नराम्रा केही भएमा सच्च्याउदै अगाडि बढ्नुपर्ने बताउदै उनले महिला अधिकारको क्षेत्रमा १ दिन मात्र कुरा गरेर नहुने भन्दै हरेक दिन अमल गरेर अगाडि बढ्नुपर्ने बताईन। महिलाहरू सफल भएपछि मात्रै स्विकार्ने भन्दापनि अवसर दिदै प्रोत्साहन दिनुपर्ने बताईन।
०००
अल्लो चिनाउँदै हिडेकी उद्यमी प्रेम कुमारी पुन
दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा रहेको चिनारी महिला साझेदारी अल्लो उद्योग समूह अध्यक्ष अध्यक्ष प्रेम कुमारी पुन विगत २१ वर्षयता निरन्तर रूपमा अल्लोका उत्पादनहरूको प्रवर्द्धन र बजारीकरण गर्दै आएकी छन् ।
अल्लो तथा हेम्प उद्योगी महिला समूह भनेर ६ जनाको समूहले दर्ता गरेर थप व्यवस्थापनको काम गर्दै गरेकी पुनले यतिबेला सामाग्री बेचेर मनग्य आम्दानी कमाउने भन्दापनि स्वदेशी बस्तुहरुको प्रवद्र्धन गर्ने लक्ष्य अनुसार अगाडि बढिरहेकी छन् । उनले स्वदेशी उत्पादनको प्रचार प्रसारमा ध्यान दिइरहेको बताउँछीन।
‘अहिले हामीले कमाई हेरेका छैनौ, प्रचार हेरेका छौ। प्रचारका क्रममा पनि हाम्रा उत्पादन बिक्री हुँदा सञ्चालन खर्च उठिरहेको हुन्छ।’ – उनी भन्छीन, ‘हामि बिभिन्न क्षेत्रमा हुने मेला महोत्वसमा पूग्ने गरेका छौँ। मेलाकोे माध्यमबाट देशव्यापी प्रचार भएको हामीले महसुस गरेका छाँै ।’
उनले अहिले गरेको लगानीको प्रतिफल आउनेमा आफुहरु ढुक्क रहेको बताउँछीन् । ‘पहिले समाग्रीहरु चिनाउनु पर्यो, बानि पार्नुपर्यो । त्यसपछि मात्रै व्यवसाय बढ्छ । यसबाट भविष्यमा प्रतिफल आउने छ ।’
लुम्बिनी प्रदेशकै रोल्पा तथा रुकुम जिल्लाबाट कच्चा पदार्थ ल्याएर उत्पादन हातको प्रयोगबाट उत्पादन हुने अल्लोबाट जुत्तादेखि टोपीसम्म तथा , मोबाइल ब्याग देखि स्कुल ब्याग, जुआरी कोट तथा कपडा,क्यामेरा ब्याग, स्कार्प, ठुला ठुला प्याकेजिङ ब्यागहरू उत्पादन भइरहेको बताइन।
अल्लोबाट बन्ने कपडा तथा ब्याग जुत्ताहरु सबै काम हातले गर्नुपर्ने हुन्छ । यसको लागि आवश्यक डिजाईन र आईडिया आफुले दिने र बाँकी काम कर्मचारीहरुबाट हुने उनको भनाई छ ।
यतिबेला उनीसंग ४५ जना कर्मचारीहरु रहेका छन् । जसले अल्लो संकलन, कमडा तथा अन्य सामाग्री निर्माण र बजारीकरणको क्षेत्रमा काम गर्दै आएका छन् । सानो लगानीबाट शुरु गरेको पुन नेतृत्वको व्यवसाय यसमा अहिले सम्म आउँदा ६० लाख जति लगानीको भएको छ ।
कोभिड देखि पहिला धेरै राम्रो बजार रहेको बताउँदै उनले उत्पादन अनुसार खपत भए पनि त्यसपछि बिस्तारै अवस्था खराब भएको बताइन।
समय र ठाउँ अनुसारको मूल्य कच्चा पदार्थको मूल्य फरक फरक हुने बताउँदै उत्पादित सामाग्रीको मूल्य भने एक राख्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । उनले स्वदेशी उत्पादनको प्रचार प्रसार र रोजगारी प्रदान गर्ने काम भइरहेको बताइन।
उनले अल्लोका तयारी पोसाक भित्र राष्ट्रियता लुकेको बताउँदै उनले हरेक ड्रेसअपमा न्यूनतम १ सामाग्री अल्लोको प्रयोग गरेमा पनि राष्ट्रियता प्रदर्शन हुने उनको दाबी छ। नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न सबैले स्वदेशी उत्पादनको खपत गरेमा देशको अर्थतन्त्र समेत चलायमान हुने दाबी गरिन।
०००
राष्ट्रिय महिला कृकेटको कप्तान बनेकी ईन्दु बर्माको चर्चा
ईन्दु बर्मा यो नाम नचिन्ने खेलप्रेमि कोहि छैन। खेलप्रेमी मात्र होइन हरेक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल छिन राष्ट्रिय महिला कृकेट टिमकी कप्तान ईन्दु ।
मलेसियामा भएको टी–२० सिरिजमाथि नेपालले जित निकाल्यो। अलराउन्डर ईन्दुले १९ बलमा १९ रन हानेर प्रदर्शनका आधारमा सिरिजको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । नेपाली राष्ट्रिय महिला टोलीमै उनी पहिलो पटक ‘प्लेयर अफ द सिरिज’ बनेकी हुन् ।
२०५४ सालमा बागलुङको हुक्दीसिरमा जन्मिएकी ईन्दुको परिवार २०६१ सालमा परिवार बसाइँसराइ गरेर रूपन्देही आएपछि तिलोत्तमा–१ मा बस्दै आएकी उनले विद्यालय तहमै क्रिकेटको ज्ञान पाइन् ।
२०१२ मा नेपालको सिनियर टिममा पर्न सफल भएकी उनले २०१० मा एसीसी यु–१९ मा सिंगापुरमा डेब्यु गरेकी थिइन् । नेपालले यु–१९ को एसीसी महिला कपको तीन संस्करणमा भाग लिदा इन्दु हरेक पटक टिममा थिइन् ।
उनी पहिलो पटक सहभागी मात्रै भएकी थिइन् तर दोस्रो तथा तेस्रो खेलमा महत्त्वपूर्ण योगदान पुर्याइन् । २०१४ मा उनले कोरियामा एसिया कप खेलिन् । २०१६ बाट नेपालका लागि नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेकी छन् । ईन्दु क्रिकेट खेल्ने क्रममा हालसम्म कोरिया, पाकिस्तान, बंगलादेश, कतार, मलेसिया, दुबई, थाइल्यान्ड, हङकङसम्म पुगिसकेकी छन् ।
ईन्दुको यो क्षेत्रको छ्लाङले महिला खेलाडी बन्न प्रेरित गरिरहेको छ। उनले खेल क्षेत्रमा महिला खेलाडीको संख्या बढाउन सम्बन्धित खेल क्षेत्रमा भविष्य देखाउन पर्ने बताउछिन। उनले अहिले क्यानले ग्रेड खुलाएर दिएको पारिश्रमिकले पनि निकै राहतको महसुस भएको बताईन।
उनले नेपालको परिवेशमा महिला खेलाडीहरुको अवस्था पहिला भन्दा निकै राम्रो भएको बताउदै खेलहरु पनि नियमित भईरहेको र यसले आफ्नो दक्षता वृद्धिका साथै बाहिरी अवसरहरु समेत सिर्जना गरिरहेको बताईन।
ईन्दु ११४ औ अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा फरक बिधामा रहेर समाजलाई विशेष योगदान पुराएका महिलाहरुमध्येबाट गृहिणी महिला संघ नेपालबाट सम्मानित समेत भएकी छन।
०००
बैंकिङ क्षेत्रमा सिमा बनको क्रियाशिलता
हरेक क्षेत्रमा रिसेप्सनमा मात्रै देख्ने गरेका महिलाहरुले बित्तीय क्षेत्रको नेतृत्व महिलाहरूले लिइरहेका छन। हरेक काममा समान सहभागिताको नारा ब्यवहारमा कार्यान्वयन गर्दै नेतृत्वदायी भूमिकामा पुगेकी बित्तीय अभियन्ता हुन सिमा बन। कृषि बिकास बैंकमा कार्यरय सिमा ०६८ सालमा कृषि विकास बैङमा व्यवसाय अधिकृत सातौ तहको रुपमा नियुक्त भएकी थिइन।
लोकसेवाले लिने आन्तरिक परिक्षा उर्तीण गरि २०७४ माघमा शाखा प्रमुख पदमा वढुवा भई हाल कृषि विकास वैंक लिमिटेड खस्यौली शाखा वुटवलमा वरिष्ठ शाखा प्रमुखको कार्यरत थिइन।
उनी भन्छिन’ नेपालको बैंकिङ्ग क्षेत्रमा महिलाको अवस्था धेरै राम्रो छ ।निजामती प्रशासनमा महिलाको उपस्थिती करिव २६ प्रतिशत रहेकोमा बैंकिङ्ग क्षेत्रमा करिव ४० प्रतिशत महिलको उपस्थिती हुनुले बैंकिङ्ग क्षेत्रमा महिलाको आकर्षण पनि उत्तिकै भएको बुझ्न सकिन्छ ।’
महिला हाकिम पो हुनुहुदो रहेछ भन्दै महिलाहरु आउँदा निकै खुसी लाग्ने बताउदै उनले आफुले बैंकको तर्फबाट महिलाहरुको क्षेत्रमा विभिन्न कामगरु गर्दै आईरहेको बताउछिन।उनले केही महिला हुनु आफैमा हामी कमजोर नहुने बताउदै समाज र समाजको सोच परिवर्तन गर्नुपर्ने बताउछिन् ।
अन्तरास्ट्रिय नारी दिवसले वास्तविक श्रमीक महिलालाई खासै प्रभाव पार्न नसकेको भन्दै उनले शहरका हुनेखाने, जान्नेसुन्ने र राजनीतीक दलका महिलाहरुकालागि एउटा पर्वका रुपमा मात्रै सिमीत भएको जस्तो देखिएको टिप्पणी गरिन। उनल्र दिनमा कति घण्टा काम गरेर कति पारिश्रमिक पाउनुपर्छ भन्ने जानकारी सम्म नभएका मजदुर श्रमिक महिलाहरुले समेत यो दिवसको औचित्य महसुस गर्नसकेमा बल्ल यो दिवसले सार्थकता पाउने बताउछिन।
०००
यी त उदाहरणीय पात्र मात्रै हुन। यस्ता सफल एवं लगनशील महिलाहरूको समाजमा कमि छैन। यद्यपि महिलाहरूलाई हेर्ने नजर र गरिने ब्यवहार समान किसिमको नहुदा महिलाहरु खुलेर बाहिर आउन सकिरहेका छैनन। महिला अधिकारकर्मी तथा अन्यहरु पनि ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन मात्रै भाषणमा भन्दा पनि ब्यवहारीक रुपमा कार्यान्वयनमा ध्यान दिन र यसको समीक्षा गर्न जरुरी छ।
लेखकको सम्वन्धमा