बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ।
विश्व क्षयरोग दिवसको अवसरमा बुटवल उपमहानगरपालिका अन्तरगत स्वास्थ्य शाखाको आयोजनमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष बिरामीको संख्या बढिरहेको पाइएको हो।
जनस्वास्थ्य महाशाखाका मीन खनालले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/८० मा बुटवल उपमहानगरपालिकाभित्र महिला २३० पुरुष १९९ जना बिरामी गरी ४२९ जना सबै किसिमको क्षयरोगी रहेको बताए। जुन गत आवको तुलनामा ९ प्रतिशत धेरै हो। आर्थिक वर्ष २०७८/७९ मा ३९६ जना बिरामी थिए। उनले बिरामी पत्ता लगाउने दर वृद्धि हुँदा बिरामीको संख्या बढिरहेको समेत जानकारी दिए।
बुटवल उपमहानगरपालिकाले वार्षिक ४७९ पत्ता लगाउने लक्ष्य रहे पनि यो आर्थिक वर्षमा ४२९ जना मात्रै पत्ता लागेको बताए। उनले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा सबैभन्दा धेरै बिरामी रहेको तथ्याङ्क प्रस्तुत गरे।
फोक्सोमा लाग्ने क्षयरोगको जोखिम युवा उमेर समूहमा बढी रहेको पाइएको छ। खनालले प्रस्तुत गरेको तथ्याङ्क हेर्दा चालु आबमा २१३ जना बिरामीमा फोक्सोको क्षयरोग देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा १४० जना र ०७८/७९मा १९४ जना बिरामी रहेका थिए।
जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखा प्रमुख युवराज पाण्डेयले बुटवल उपमहानगरपालिकाद्धारा सञ्चालित कार्यक्रमहरूको बारेमा जानकारी गराए।
उनले क्षयरोग मुक्त अभियान बनाउन स्वयमसेवकहरुलाई अभिमुखीकरण तथा जोखिम समूहमा परिचालन, क्षयरोग समीक्षा तथा विश्लेषण, क्षयरोग मुक्त वडा समिति गठन गर्ने, अभिमुखीकरण र माइक्रोप्लानिङ्ग गर्ने, अन्तरक्रिया तथा समुदायमा क्षयरोग जोखिम समूहहरूमा क्षयरोग खोजपड्ताल र स्वास्थ्य संस्थाको पहुँचबाट टाढा भएका समूहमा घरदैलो तथा स्किनिङ्ग क्याम्प सञ्चालन हुँदै आएको बताए।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका क्षयरोग फोकल पर्सन विरोध पाण्डेयले बिरामीलाई काउन्सिलसङको काम चिकित्सकबाट पूर्ण हुन नसक्नु र हेयको भाव हुँदा बिरामी खुल्नमा समस्या देखा परेको बताए।
कार्यक्रममा सेभ द चिल्ड्रेन किड्स परियोजनाकि बिवेचना पाण्डे , सहरीस्वास्थकर्मीहरु लगायतले आ आफ्नो भनाइ राखेकाे उपमहानगरपालिका जनस्वास्थ्य शाखाका अधिकृत यमलाल भुसालले जानकारी दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका भित्र रहेका बिरामीको संख्या, सङ्क्रमण दर, न्यूनीकरणमा नगरको पहल लगायतको बारेमा छलफल भएको शाखा अधिकृत कल्पना भुसालले जानकारी दिइन।
कार्यक्रममा स्वास्थ्यकर्मी, सहरी स्वास्थ्य केन्द्र, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
यस बर्ष “हो ! हामी क्षयरोग अन्त्य गर्छौ ” भन्ने नाराका साथ क्षयरोग दिवस मनाइएको हो ।
लेखकको सम्वन्धमा