बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने योजना
बुटवल। बुटवल एक राम्रो पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। लामो इतिहास बोकेको पुरानो बटौली बजार डोकोमा घिउ बोकेर नुन साट्न गाउँबाट मानिसहरू बटौली झर्थे। पश्चिम नेपालको आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित बुटवलले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहरको पहिचान बनाएको छ।
१८७२ वैशाख ७ मा बुटवलको जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेजमाथि विजय हासिल गरेको थियो। पर्यटकीय क्षेत्र तथा धार्मिक स्थल र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा पहिचान स्थापित गर्न सफल भएको छ बुटवल ।
यहाँ रहेका प्राचीन तथा ऐतिहासिक जितगढी किल्ला, सेन वंशीय राजाको ग्रीष्मकालीन दरबार, मन्दिर, विहारजस्ता सम्पदाले आधुनिक सहर बनाउँदै यहाँ पर्यटकीय सम्भावना पनि राम्रो छ भन्न सकिने आधारहरू देख्न सकिन्छ।
बुटवलको शिरमा रहेको नुवाकोट, काखमा रहेको जितगढी किल्ला, सिरानमा रहेको मणिमुकुन्दसेन उद्यान, हिल पार्क, कपरकट्टी ताल, सिद्ध बाबा मन्दिर, नरैनापुर धाम, नीलकण्ठ बाबा धाम, मुक्तिनाथ धाम, गणेश मन्दिर, बौद्ध गुम्बा, पद्य चैत्य विहार, पुरानो बटौलीको जामे मस्जिदजस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलले बुटवललाई सम्पदा सहरको परिचय दिलाएका छन्।
पर्यटकीय क्षेत्र तथा धार्मिक स्थल र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा पहिचान स्थापित गर्न सफल भएको छ बुटवल ।
उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने बुटवल उपमहानगरको लक्ष्य
बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाहरूको प्रचारप्रसार गर्दै अन्य पर्यटकीय स्थलसँग तीनलाई जोडेर पर्यटकीय विश्राम स्थलका रूपमा बुटवललाई विकास गर्ने लक्ष्य नगरप्रमुख खेलराज पाण्डेयले लिएका छन्।
बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थल, सिद्ध बाबा मन्दिर हुँदै बुटवललाई मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रुट निर्माण गरी पर्यटन प्रवर्धनका योजना बनाउन पहल भइरहेको उनले बताए।
बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्न नगरको सौन्दर्यीकरण, सरसफाइ, हरियाली र उज्यालो सहर निर्माण अभियान चलाइएको छ।
बुटवलमा हाल सञ्चालनमा आइसकेको बुटवल–वसन्तपुर जोड्ने लुम्बिनी केबुलकार र सञ्चालनको तयारीमा रहेको बुटवल–नुवाकोट जोड्ने सिद्धार्थ केबुलकारले यो क्षेत्रलाई अझ चलायमान बनाउने अपेक्षा लिइएको छ।
निजी क्षेत्रले पनि आर्थिक केन्द्रका रूपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा सहित ठुला, स्तरीय तथा तारे होटेलहरूमा लगानी गरिरहेका छन् ।
पर्यटनमा यस्ता भएका छन् कार्यक्रम
बुटवल उपमहानगरपालिकाले बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यही योजना अन्तरगत बुटवल उपमहानगरपालिका भित्रका पर्यटकीय स्थलहरूको पहिचान गर्ने, प्रवर्द्धन गर्ने , टुर गाइड तालिम दिने, प्रचार प्रसार गर्ने लगायतका कामहरू गर्ने योजना रहेको नगरप्रमुख पाण्डेय बताउँछन्।
” हामीले बुटवल उपमहानगरपालिकालाई हरेक दृष्टिकोणबाट अब्बल तथा उत्कृष्ट बनाउने योजनाका साथमा काम गरिरहेका छौँ । ” उनी भन्छन्, ” यो योजना अनुसार बुटवलले बुटवलका पर्यटकीय स्थलहरूको पहिचान गर्ने , जस्तो कि जितगढी किल्ला , मणिमुकुन्द सेन उद्यान लगायत यहाँका धार्मिक र ऐतिहासिक , पुरातात्त्विक पर्यटकीय स्थलहरू जो छन् हो ती स्थानहरूको प्रवर्द्धन गर्ने काम हामी गर्दै छौ।”
उनले यी काम अन्तरगत यो वर्ष पर्यटन प्रवर्द्धनको कामहरू गरिरहेको उल्लेख गरे। उनले भने,” यी कामको लागि अहिले यो वर्षमा पर्यटन प्रवर्द्धन भनेर काम भैरहेका छन्।”
नगरप्रमुख पाण्डेयले पर्यटकीय स्थलहरूको ब्रोसरहरु निर्माण गर्ने , ती ब्रोसरहरु बाढ्ने र त्यहाँ आउने पर्यटकहरूलाई ती पर्यटकीय स्थलको बारेमा जानकारी दिनलाई पथ प्रदर्शक (टुर गाइड) लाई तालिम दिने काम गर्ने बताए। उनले टुर गाइड उत्पादन गर्ने , यहाँको प्रचार प्रसार गर्ने काम उपमहानगरले गर्ने दाबी गरे। यसले स्थानीयलाई रोजगारीको अवसर मिल्नुको साथसाथै आयआर्जनमा समेत सहयोग हुने विश्वास व्यक्त गरे।
बुटवल भित्र रहेका पर्यटकीय स्थलको प्रचार प्रसार गरिसकेपछि यसलाई देशभर र नजिकका छिमेकी मुलुकहरूमा पनि यहाँ पर्यटक विश्राम स्थलका रूपमा बनाउने उनले दाबी गरे।
“हामीले हाम्रोमा भएका पर्यटकीय गन्तव्य तथा क्षेत्रहरूको जानकारी गराउँदै बुटवललाई बिश्रामस्थल बनाउने छौ। जस्तो कि यो विश्राम भनेको कस्तो हो भन्दा भारत बाट आउने पर्यटक हुन सक्छन् उदाहरणका लागि, भैरहवा एयरपोर्टमा आउने पर्यटक हुन सक्छन् । तिनीहरू एकै दिन मुक्तिनाथ जाने हुन भने पनि आजैको आजै त जादैनन ।नेपाली पनि पोखरा, गुल्मी अर्घाखाँची, पाल्पा, स्याङ्जा तथा बर्दिया लगायतका क्षेत्रहरूमा जाने पनि सोही दिन बस्ने स्थल बुटवल बनाउने योजना हो।” उनले भने, ” यहीँ बस्दा नजिकका पर्यटकीय एवं धार्मिक स्थलको भ्रमण गर्न पाइन्छ। साथै अन्य क्षेत्रमा पर्यटकले सेवा पाइएन भन्ने गुनासो आए बुटवल जाने वातावरण बनाऔँ भन्नेमा हामीहरू लागिपरेका छौ।”
बुटवल भित्र रहेका पर्यटकीय स्थलको प्रचार प्रसार गरिसकेपछि यसलाई देशभर र नजिकका छिमेकी मुलुकहरूमा पनि यहाँ पर्यटक विश्राम स्थलका रूपमा बनाउने उनले दाबी गरे।
रात्रिकालीन बजारले तान्नेछ पर्यटकको ध्यान
बुटवलले रात्रिकालीन बजार सञ्चालन गर्ने पहलकदमीले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्नेमा उपमहानगर तथा व्यवसायी क्षेत्र उत्साही एवं विश्वस्त छन्। रात्रिकालीन बजारले यहाँको सस्कृतीको प्रचार प्रसार हुँदा आय वृद्धि हुने अवस्था आउने उपमहानगरले योजना बनाएको नगरप्रमुख पाण्डेयले बताए।
उनले रात्रिकालीन बजार बुटवलको कालिका पथलाई रात्रिकालीन बजार क्षेत्र बनाउने र यहाँ मान्छे रातिमा आएर घुम्ने, हेर्ने, नाच्ने , रमाउने काम हुने दाबी गरे।
उनले भने,”अब यहाँ रात्रिकालीन बजार चल्छ ,रात्रिकालीन बजारहरूमा यहाँका संस्कृति पर्यटन सम्बन्धी यहाँका स्थानीय भेषभुषा -थारु मगर, गुरुङ नेवार , बाहुन , क्षेत्री लगायतका जति पनि भेषभुषा संस्कृति लोकबाजा नृत्य छन् यहाँका होटल रेस्टुरेन्ट, क्याफेहरूले यसको प्रवर्द्धनको काम गर्नेछन्।”
रात्रिकालीन बजार बुटवलको कालिका पथलाई रात्रिकालीन बजार क्षेत्र बनाउने र यहाँ मान्छे रातिमा आएर घुम्ने, हेर्ने, नाच्ने , रमाउने काम हुने दाबी
व्यवस्थित तरिकाका गुणस्तरीय सर्वसुलभ तरिकाका ठेलाहरू तथा स्ट्रेट फुड पनि रात्रिकालीन बजारमा हुने भन्दै उनले यी सबै पर्यटकमा बुटवलमा एक दिन विश्राम गर्न जान पर्छ, घुम्न जान भन्दा पहिला पनि थकाइ लागे पनि एक दिन आराम गरेर जाने , घुमेर आएपछि पनि थकाइ लाग्यो भने पनि बुटवलमा आएर मेट्ने भनेर यसलाई पर्यटकीय विश्राम स्थल बन्ने विश्वास व्यक्त गरे।
“बुटवल घुम्न जाऔँ” भ्रमण वर्षको तयारी
पर्यटन प्रवर्द्धन गर्नको लागि बुटवल उपमहानगरपालिकाले बुटवल घुम्न जाऔँ भ्रमण वर्ष घोषणाको तयारी गरेको छ। यसको आन्तरिक तयारीको काम भइरहेको उपमहानगर प्रमुख पाण्डेयले जानकारी दिए।
उनले भ्रमण वर्ष घोषणाले छिमेकी जिल्ला, छिमेकी प्रदेश तथा छिमेकी देशहरूमा बुटवल उपयुक्त पर्यटकीय बिश्रामस्थल बनाउन सहयोग पुग्ने बताए।
“छिट्टै बुटवलले चाहिँ बुटवल घुम्न जाऊ भनेर भ्रमण वर्ष घोषणा गर्छ । यसको आन्तरिक तयारीमा छ । ” उनले भने, भ्रमण वर्ष घोषणा गरेर छिमेकी देशहरू, छिमेकी जिल्लाहरूसँग समन्वयको काम गर्नेछौ। हाम्रो नजिकको सिमा क्षेत्र भारत हो । भारतका पर्यटकहरूलाई यहाँ ल्याउनका लागि त्यहाँका नगरपालिकाहरु तथा सरकारहरू सँग गएर हामीले जिटुजि मोडलमा चाहिँ सहमति गर्नेछौ। त्यहाँका मान्छेहरूलाई यहाँ घुम्न बोलाउँछौ । यहाँ आएका मान्छेहरूलाई मुक्तिनाथ सम्म लगिन्छ । त्यसरी यो चाहिँ एकदम गतिलो विश्राम स्थल बनाउने भन्ने योजना छ ।”
पर्यटनमा करिब पौने करोड बजेट
बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा पर्यटन सम्बन्धी गतिविधि गर्नको लागि करिब पौने करोड रकम छुट्टाएर काम गरिरहेको छ। हरेक कुराबाट पर्यटन प्रवर्द्धनको कार्यक्रम राखिए पनि पर्यटकीय क्षेत्रकै विकास बिस्तार र पर्यटकीय क्षेत्रको विकासको लागि चालू आवमा ७२ लाख बजेट छुट्टाइएको उपमहानगरपालिकाका सामाजिक परिचालन, अन्तर सरकारी तथा सङ्घसंस्था समन्वय शाखा अधिकृत दामोदर ज्ञवालीलेले जानकारी दिए।
विभिन्न शीर्षकमा छुट्टाइएका कार्यक्रमहरुमध्य सबैभन्दा धेरै पर्यटन प्रवर्द्धनमा २६ लाख, पार्क स्तरोन्नतिमा २१ लाख, पार्क सौन्दर्यीकरणमा १५ लाख, अध्ययन तथा पुस्तक प्रकाशनमा ३ लाख, सस्कृती संरक्षणमा ३ लाख, टुर गाइड तालिममा डेढ लाख, पर्यटन प्रवर्द्धन प्रचार सामाग्री व्यवस्थापनमा डेढ लाख, होमस्टे स्थापनामा १ लाख रकम विनियोजन भएको उनले जानकारी दिए।
उत्कृष्ट योजना आएको छ : सरोकारवाला
बुटवल उपमहानगरपालिकाले ल्याएको बिश्रामस्थलको योजनालाई निजी क्षेत्र तथा सरोकारवालाहरूले स्वागतयोग्य कदम भएको बताउँछन् ।
पर्यटनबिद युवराज कँडेलले चुरे क्षेत्रमा होमस्टे तरिकाबाट बिश्रामस्थल बनाउन सकेमा यो योजना सफल हुने बताउँछन्। पर्यटकहरू खुला ठाउँमा समय बिताउन, मेडिटेसन तथा प्रकृति सँग कुरा गर्न रुचाउने हुनाले हिल स्टेसनमा विश्राम स्थल बनाउनुपर्ने कँडेलको सुझाव छ। खुल्ला गेस्ट हाउस बनाएर निजिक्षेत्रलाको सहभागिता बनाएर लैजान सकियो भने राम्रो हुने भन्दै उनले यहाँ आउने भनेको भारतका पर्यटक भएकोले उनीहरूलाई आकर्षण गर्ने गरि निर्माण गरिनु पर्ने बताए।
यता नाटा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले अहिले सम्मको अवस्थालाई हेर्ने हो भने यहाँ आएर रात काटेर जाने पर्यटकको संख्या कमै रहेको बताउँछिन् । उनले अहिले सम्मको अवस्था हेर्दा पर्यटक आकर्षक नभएको बताइन।उनले होटल व्यवसायीलाई आबद्ध बनाई व्यवस्थित र सुपथ हुनुपर्ने बताइन।
उनी भन्छिन्, ” नयाँ शैलीका साथ आउनु पर्छ । नयाँ ब्राण्डिङ हुनु पर्छ । त्यसका लागि बजार स्तर सस्तोमा हुनुपर्छ ।नगरपालिकाले करमा छुट दिनु पर्छ । यहाँको बजारको बजार मूल्य सूचिलाई सुपथ मूल्य बनाउन पर्छ ।”
एकै पटक परिवर्तन आउन समय लागे पनि नगरपालिका नै आफै यसमा लागे पछि बुटवलमा घुम्न आउने पर्यटकहरूको ध्यान खिच्ने खालको शैली ल्याएमा सबैले सँगै हातेमालो गरेर अघि बढे सम्भव रहेको बताइन।
उनी भन्छिन्, “हाम्रो काम पर्यटक डुलाउने , स्वागत गर्ने, पर्यटन भित्राउने हो । नगरपालिकाले राम्रो शैली ल्याउँछ भने हाम्रो जिम्मेवारी पर्यटन ल्याउने हुन्छ । स्थानीय तहसँग सहकार्य गर्न सधैँ तयार छौ र नाटा लुम्बिनी प्रदेश पर्यटक स्वागत गर्न तयार छ ।”
लेखकको सम्वन्धमा