न्यु होराइजन कलेजमा स्वागत तथा विदाई
तिलोत्तमा । न्यु होराइजन कलेज तिलोत्तमा १ रुपन्देहीमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
वि.एस्सी प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई वि.एस्सी. दोस्रो, तेस्रो तथा चौथो वर्षका विद्यार्थीले स्वागत गरेका हुन् भने वि.एस्सी. चौथो वर्षको बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई वि.एस्सी. प्रथम, द्वितीय तथा तृतीय वर्षमा अध्ययनरत विद्यार्थीद्वारा विदाई गरिएको हो ।
न्यु होराइजन विद्यार्थी परिषद्का अध्यक्ष सुरज पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा न्यु होराइजन कलेज व्यबस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौल रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, होराइजन गौतम बुद्ध मा.वि.व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजू श्रेष्ठ, क्षितिज इन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ रहनुभएको थियो ।
अतिथिमा होराइजन जि.वि.एस.स्कुलका प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसाल, वि.एस्सी. प्राध्यापक डा. तारानाथ भट्टराई, प्राध्यापक डा. नारायणप्रसाद पन्थ, प्रदीप अर्याल, प्राध्यापक लक्ष्मणप्रसाद गौतम, जिविएसका उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, सहसंयोजक रुद्र भुसाल रहनुभएको थियो ।
कलेज व्यवस्थापन समितिका पदाधिकारी एवम् वि.एस्सी. मा प्राध्यापनरत प्राध्यापक, कर्मचारी, विद्यार्थीको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरी सुरु भएको कार्यक्रममा डा. तारानाथ भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।
विद्यार्थीको तर्फबाट अवधराम बरई, सुदिप्ति आचार्य, ओसिन पुनले मन्तव्य राखेका थिए । यसै गरी क्याम्पस प्रमुख लोकनाथ उपाध्याय र सहायक क्याम्पस प्रमुख गोपालप्रसाद आचार्यले आफ्ना मार्ग निर्देशनसहित विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभएको थियो । प्रमुख अतिथिको मन्तव्य राख्दै न्यु होराइजन कलेज व्यवस्थापन समितिका अध्यक्ष निर्मल प्रसाद लाकौलले विद्यार्थीलाई अध्ययनमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले एसी सहितका कक्षा कोठाहरू तयार गरेको, लाइब्रेरी, इलाइब्रेरी, ल्याब तथा यातायात सुविधा आदि कुरामा कुनै कमि नहोस् भन्ने तर्फ कलेज व्यवस्थापन सधैं चनाखो हुने गरेको कुरा बताउनुभयो ।
क्याम्पस प्रमुख लोकनाथ उपाध्यायले न्यु होराइजन यस्तो संस्था हो जहाँ नर्सरीदेखि स्नातकोत्तर तहसम्मको अध्ययन भइरहेको र यस संस्थामा अध्ययन गर्ने विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा अब्बल दर्जाको जनशक्तिको रूपमा स्थापित गराइ रहेकोमा खुसी व्यक्त गर्नुभयो । सहायक क्याम्पस प्रमुख गोपालप्रसाद आचार्यले न्यु होराइजन कलेजले संख्यात्मक भन्दा पनि गुणात्मकतामा विशेष ध्यान दिंदै आएको र निश्चित कोटा अन्तर्गत विद्यार्थीलाई वि.एस्सी.मा भर्ना गरी अध्ययन अध्यापन गराइरहेको कुरा बताउनुभयो । उहाँले न्यु होराइजन कलेजमा अध्ययन गरेका विद्यार्थीले पटक पटक त्रि.वि. टप गरेको कुरा स्मरण गदै वि.एस्सी चौथो वर्षको बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई अत्यन्त लगनशील र मेहनतका साथ परीक्षामा जुट्नका लागि शुभकामना दिनुभयो ।
वि.एस्सी. प्रथम वर्षका नवआगन्तुक विद्यार्थी तथा वि.एस्सी. चौथो वर्षका विद्यार्थीलाई विद्यार्थीलाई टिका, खादा र मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रमलाई रोचक बनाउनका लागि विद्यार्थीद्वरा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
सोही कार्यक्रममा न्यु होराइजन कलेज वि.एस्सी. तर्फको आन्तरिक परीक्षाको नतिजामा प्रथम, द्वितीय एवम् तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने त्रि.वि.द्वारा सञ्चालित २०८० सालमा प्रकाशित वि.एस्सी. चौथो वर्ष र वि.एस्सी दोस्रो वर्षको नतिजामा प्रथम, द्वितीय एवम् तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन नेत्रनारायण काफ्ले र संगीता वि.क.ले गर्नुभएको थियो ।
लेखकको सम्वन्धमा