वागेश्वरी कला तथा संगीत एकेडेमीले मनायो रजत जयन्ती
बुटवल । मिलनचोकमा रहेको वागेश्वरी कला तथा संगीत एकेडेमीले आफ्नो रजत जयन्ती मनाएको छ । वागेश्वरीकाे अाफ्नै थियटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं वर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको हो । रजत जयन्ती समारोहको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै उनले कला र साहित्यको क्षेत्रमा सहकार्य गरेर काम गर्न उपमहानगरपालिका सधै तयार रहेको बताए । साथै उनले नेपाली कला र संस्कृतिको जर्गेना गर्न सबै लाग्नुपर्ने बताए । पश्चिमी कला र संस्कृतिका कारण नेपाली कलाको मौलिकता हराउँदै गएकाे भन्दै यसको संरक्षण र प्रवर्द्धनमा राज्यले पहल कदमी गर्नुपर्ने बताए । संघीय राजधानी बाहिर अहिले पनि कला , संस्कृति , साहित्यको क्षेत्रमा उल्लेख्य काम हुन नसकेको भन्दै बुटवल उपमहानगरपालिका सधै कलाको सम्मान गर्न प्रतिवद्ध रहेको बताए ।
साे कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार डाक्टर घनश्याम न्याैपाने परिश्रमीले कला र साहित्यले नै मानव जीवन सार्थक हुने बताए । उनले कलाकै कारण मानव महान बन्ने बताए । उनले कला र साहित्य बिनाकाे जीवनकाे कुनै अर्थ नहुने बताउँदै साहित्य र कला क्षेत्रलाई सबैले माया गर्न जरुरी रहेकाे बताए । कुनै पनि अविभावकले अाफ्ना छाेराछाेरीहरूलाई कलाकारितामा लाग्न उत्प्रेरित गर्न नसक्दा कला र साहित्य क्षेत्र अाेझेलमा परेकाे बताए । वरिष्ठ उदघाेषक गाेपाल अधिकारीले वागेश्वरीले याे क्षेत्रमा पृथक पहिचान बनाएको बताए ।
एकेडेमीका सञ्चालक लालिमा श्रेष्ठले २५ वर्षको अवधिमा एकेडेमीबाट हजारौं विद्यार्थीहरुले कला र संगीतकोे ज्ञान लिएको बताईन । साथै उनले कला र संस्कृतिसँग जोडिएका प्रतिष्ठान र संस्थालाई राज्यले उपेक्षा गरेको भन्दै नेपाली कला र संगीत जीवन्त राख्न प्रतिष्ठान र संस्थाहरुलाई राज्यले संरक्षकत्व दिनुपर्ने बताईन ।
एकेडेमीका व्यवस्थापक दावा शेर्पाले एकेडेमीले २५ वर्ष पार गर्नु सामान्य विषय नभएको भन्दै यसले समाजलाई दिएको योगदानको चर्चा हुनुपर्ने बताए ।
कार्यक्रममा एकेडेमीका विभिन्न विधाका प्रशिक्षक र विद्यार्थीहरूकाे गायन र नृत्यका प्रस्तुतिहरू रहेका थिए । भारतका वरिष्ठ गुरु नारदमणि त्रिपाठीकाे शास्त्रीय गायनको प्रस्तुति रहेकाे थियाे । साथै कार्यक्रममा विशेष प्रस्तुतिका रूपमा अतिथि कलाकार चर्चित बाँसुरी बादक नगेन्द्र विक्रम राई र लिबुलुङ राईकाे बाँसुरीकाे वादन , वरिष्ठ तबला बादक निमेश कपालीकाे तबला बादन प्रस्तुति , युवराज गुरूङद्वारा भरतनाट्यम नृत्यकाे प्रस्तुति रहेकाे थियाे ।
साे अवसरमै चित्रकला प्रशिक्षक शुदर्शन पन्थकाे चित्रकलाकाे प्रस्तुति रहेकाे थियाे ।
सो अवसरमा एकेडेमीलाई याेगदान पुर्याउने विभिन्न व्यक्तिलाई प्रशंसापत्र र सम्मानपत्रले सम्मान गरिएको थियो । एकेडेमीलाई योगदान पुऱ्याउने संस्थापक अध्यक्ष सुरेश सेन्चुरी, भारतका वरिष्ठ गुरु शरदमणि त्रिपाठी , ध्रुपद गुरु विशाल भट्टराई , पूर्व छात्रा तेरिया फौजा मगर र प्रशिक्षक प्रेम नेपालीलाई विशेष सम्मान गरिएको थियो ।
पछिल्लो समय वागेश्वरी संगीत र नृत्य सिक्नेको लागि पहिलो रोजाइ बनेकाे छ भने बाध्यवादन र चित्रकलाका कक्षाहरू सञ्चालन भैरहेका छन् । एकेडेमीको मणिग्राम शाखाबाट पनि नृत्य , गायन र बाध्यवादनका विधामा कक्षाहरू सञ्चालन भैरहेकाे एकेडेमीले जनाएको छ ।
लेखकको सम्वन्धमा