सवारी चालकहरुलाई प्रशिक्षण
बुटवल । देशभर सवारी दुर्घटना बढिरहेको अवस्थामा पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले सवारी चालक तथा परिचालकहरुलाई प्रशिक्षण संचालन गरिरहेको छ। सडक दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्युनीकरण गर्ने लक्ष्यसहित प्रालिमा आवद्ध चालक तथा सहचालकहरुलाई प्रशिक्षण संचालन गरिएको प्रालिले जनाएको छ।
मंगलबार भएको प्रशिक्षणमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले सवारी दुर्घटना हुनुका पछाडी यात्रु, अन्य सडक प्रयोगकर्ता, सवारी साधन, भौगोलिक तथा सडकको अवस्था, छाडा चौपाया, मौसम लगायत धेरै कारण हुने भएपनि सवारी साधनको चाबी चालकको हातमा हुने भएकोले जिम्मेवारीपनि धेरै चालककै हुने बताए।
उनले सडक र सवारी साधनको अवस्था र यात्रुहरुको मनोविज्ञानलाई बुझेर गाडी चलाउने हो भने दुर्घटना न्यूनिकरण गर्न सकिने बताए।
प्रहरी नायब महानिरिक्षक कडायतले सवारी धनी, यात्रु र चालकलाई एकरुपतामा नहेर्दा सम्म सवारी दुर्घटना न्यूनिकरण गर्न नसकिने भन्दै सवारी सहजीकरण, यात्रुमैत्री र सुरक्षित यात्राका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले धार्मिक कार्य, जन्म र मृत्युपछिको दाहसंस्कारको लागि समेत सवारी चालकको भरमा यात्रा गर्नुपर्ने भएकोले यो पेशा मात्र नभई पुण्यको काम भएको उल्लेख गर्दै पेशालाई सम्मानित बनाईरहने दायित्व चालकहरुको हातमा रहेको बताए।
उनले प्रालिले चालक तथा मजदुरहरुको श्रमको सम्मान गर्ने सवालमा कुनैपनि कसर बांकि नराख्ने भन्दै चालकहरुकै आर्थिक सुरक्षाको लागि दुर्घटना बीमा संगै जिवन बीमाको योजना अगाडी सारिएको बताए।
प्रालिले आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्युनीकरण तथा प्रशिक्षण समिति गठन गरि २०६६ सालदेखि नियमित रुपमा चालक केन्द्रित प्रशिक्षण संचालन गर्दै आएको छ। आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्युनीकरण तथा प्रशिक्षण समितिका संयोजक नारायण प्रसाद घिमिरेले १५ वर्षसम्म नियमित प्रशिक्षण संचालन गर्दा प्रालिमा आवद्ध सवारी साधनहरुको दुर्घटना १५ प्रतिशतले न्यूनिकरण गर्न सकिएको बताए।
घिमिरेले यो अवधिमा ८ हजार बढी चालक तथा परिचालकलाई प्रशिक्षण दिईएको दावी गरे। घिमिरेले प्रालिमा बोलाएर दिईने यसप्रकारको प्रशिक्ष्ँण सामान्य मानिएपनि महत्वपूणर् रहेको बताए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक शोभा पाण्डेले सवारी दुर्घटना न्युनीकरण तथा सुरक्षित सडक प्रयोग सम्बन्धी जानकारी दिदै दुर्घटना न्युनीकरणमा चालकको भूमिका र प्रतिवद्धता महत्वपूणर् हुने बताईन्। उनले सार्वजनिक सवारी साधनको स्टेयरिङमा बसेपछि यात्रा गर्ने सबै यात्रुहरु मेरै आफन्तहरु हुन् र उनिलाई सकुशल गन्तव्यमा पुर्याउने जिम्मेवारी मेरो हो भन्ने बुझेर सवारी साधन चलाउने हो भने दुर्घटना कम गर्न सकिने बताईन्।
जिवनयापनको लागि गरिने जुनसुकै पेशा तथा व्यवसायमध्ये सवारी चालक पेशा सबैभन्दा महत्वपूणर् पेशा रहेकोले यसलाई सबैभन्दा सम्मानित पेशा बनाउने जिम्मेवारी चालकहरुको रहने बताईन्। पाण्डेले सडकमा पर्खिएर बसेका एकदुईजना यात्रुलाई भेट्टाउने नाममा गरिने अस्वस्थ प्रतिष्पर्धाका कारण दुर्घटनाको जोखिम बढ्ने भएकोले यात्रु भेट्टाउने नाममा प्रतिस्प्रधात्मक चालक नबन्न सुझाव दिईन्।
प्रालिका संचालक जितेन्द्र खत्रीले सिकाई निरन्तर हुने तर्क दिदै स्वरोजगार चालक बन्न प्रशिक्षण फाईदाजनक भएको बताए।
लेखकको सम्वन्धमा