निर्वाचनले बुटवलमा रगत अभाव
बुटवल । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको ब्लड बैंकमा रगतको अभाव देखिएको छ। अन्य समयमा विभिन्न संघसंस्थाले गर्ने रक्तदान कार्यक्रमले रगतको अभाव नभएपनि निर्वाचनको कारणले गर्दा रगत अभाव देखिएको हो।
स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीका अनुसार रक्त सञ्चार केन्द्र बुटवलमा ओ पोजेटिभ ब्लड ग्रुप बाहेक सबै ब्लड ग्रुपको रगत अभाव भएको छ।
दैनिक १ सय युनिट रगतको माग रहेको बुटवलमा अहिले रगतको अभाव खड्किएको हो।डायलासिस गर्नुपर्ने, गर्भवती महिला,हाडजोर्नीको अप्रेसन, रक्तअल्पताको बिरामी तथा दुर्घटनाको लागि दैनिक १ सय युनिट बढी रगतको आवश्यकता पर्ने गरेको छ।
उनले भने,’ यतिबेला देशभरको रगतको अभाव छ। रगत नपाए बुटवल जानू अभियान सञ्चालन गरेका हामिलेनै रगतको अभाव भोग्नुपर्ने समय आयो।’
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनले गर्दा रक्तदान कार्यक्रमहरु नहुदा रगत अभाव भएको उनले जानकारी दिए।
लुम्बिनी प्रादेशिक अस्पताल तथा बुटवलका अन्य निजि अस्पतालहरुमा बिरामीहरुलाई रगत नपुगेको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यारत भरत जंग क्षेत्रीले बताए। उनले भने,’उपचारमा रगत चाहिन्छ, हामी टुलुटुलु हेर्न बाहेक केही गर्न सकिएन।’
थालियो रक्तदान अभियान
स्थानीय तहको निर्वाचनको कारणले गर्दा नियमित हुने रक्तदान कार्यक्रम स्थगित भएकोले रगत अभाव भएको भन्दै बुटवलमा रक्तदान अभियान सुरु गरिएको छ। मौन अवधी तथा अन्य समयमा समेत रगतको अभाव भएकोले भन्दै रक्तदान अभियान शुरु गरिएको हो।
स्वयंसेवि रक्तदाता समाज रुपन्देहीको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी बुटवलको सहयोगमा रक्तसञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम शुरु गरिएको हो।
आजदेखी शुरु भएको अभियान जेठ ३ गतेसम्म चल्ने स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष क्षेत्रीले जानकारी दिए। उनले राजनैतिक दल, भातृ संगठन तथा बुटवल क्षेत्रमा रहेका सबैलाई रक्तदान गर्न आग्रह समेत गरिएको हो।
लेखकको सम्वन्धमा