पसिना बगाउनेहरूलाई हेलाहोचो गरेर कसरी आऊला समृद्धि ?
– डा. तारानाथ भट्टराई
‘श्रमबिना कुनै पनि कुराको विकास सम्भव हुँदैन’ दार्शनिक सोफेकेलेसको यो पङ्क्तिले श्रमको महत्त्व प्रस्ट पारेको छ । हरेक सीप विकासको सुरुवात श्रमसँगै हुन्छ भन्ने आशय विश्वविख्यात दार्शनिक जोन डिवेको रहेको छ । त्यसैगरी श्रमबिना समाज अगाडि बढ्न नसक्ने तथा श्रमले नै समाज संरचनाको विकासको निमित्त शान्तिपूर्ण क्रान्ति अगाडि बढाउने दाबी महात्मा गान्धीले गरेका छन् ।
कार्ल मार्क्सले श्रमलाई समाजमा आमूल परिवर्तन गरी पुनर्संरचनाको मार्गमा अगाडि बढाउने कारक तत्त्वको रूपमा उल्लेख गरेका छन् । अब्राहम लिङ्कनले कुनै पनि व्यक्ति तथा समाजलाई आत्मनिर्भर तथा स्वतन्त्र बनाउने एक मात्र आधारको रूपमा श्रम नै भएको कुरा दाबी गरेका छन् । दार्शनिक कन्फ्युसियसले श्रम अर्थात् मिहिनेत मानिसको अपरिहार्य सद्गुण हुनुपर्नेमा जोड दिएका छन् ।
उल्लेखित अभिव्यक्तिहरूका आधारमा श्रम नै हरेक विकास तथा परिवर्तनको आधार हो भन्न सकिन्छ । व्यक्ति, परिवार, समाज, समुदाय, राष्ट्र तथा समग्र विश्वको परिवर्तन सुधार तथा विकासको निमित्त श्रमको आवश्यकता पर्छ । श्रमबिना कुनै पनि सकारात्मक प्रक्रिया अगाडि बढ्न सक्दैन । जुन व्यक्ति, परिवार तथा समाजमा श्रम वा मिहिनेत गर्ने परिपाटी हुन्छ त्यहाँ विकास तथा परिवर्तन हुन्छ, अन्यथा त्यो यथास्थिति मै रहन्छ । श्रमको मात्राले नै विकासको गति निर्धारण गर्दछ । कुनै पनि देश छिटो वा ढिलो विकसित हुनुमा त्यस देशका मानिसहरूले गर्ने श्रम र श्रमप्रतिको दृष्टिकोणले ठूलो भूमिका खेलेको देखिन्छ ।
श्रमप्रतिको दृष्टिकोण समाजमा व्याप्त संस्कृतिबाट प्रभावति हुन्छ र त्यसले श्रमको मूल्याङ्कनलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । प्रत्येक पेसा, व्यवसाय तथा कार्यहरू श्रमसँग जोडिएका हुन्छन् र पेसा तथा कार्यहरूलाई हेर्ने दृष्टिकोण समाजअनुसार फरक पर्छ, जसको मुख्य कारण समाजमा विद्यमान संस्कृति (जुन धर्मसँग पनि जोडिएको हुन्छ) हो भन्ने आशय कार्ल मार्क्सको रहेको छ । कुनै पनि पेसा अथवा कामलाई सानो वा ठूलो, राम्रो वा नराम्रो उच्च स्तरको वा निम्नस्तरको भनी निर्धारण गर्नमा विद्यमान समाजमा व्याप्त संस्कृतिको ठूलो भूमिका हुन्छ । कुनै पनि समाजमा श्रमको कति सम्मान गरिन्छ भन्ने कुरा त्यस समाजमा व्याप्त संस्कृतिले निर्धारण गर्छ ।
मूलतः हिन्दु धर्मद्वारा निर्देशित हाम्रो संस्कृतिमा परम्परादेखि जात वा वर्णका आधारमा पेसा तथा कार्य विभाजन र सोही अनुरूपको दृष्टिकोण निर्धारण भई अझसम्म पनि त्यसको प्रभाव रहिरहेको पाइन्छ भन्ने धारणा शिक्षाविद् विद्यानाथ कोइरालाको छ । उदाहरणका लागि सुकिलो कपडा लगाई कुर्सीमा बसेर गरिने पेसा तथा कार्यहरूलाई उच्च सम्मान दिइने तर खेतबारी, भवन निर्माण कलकारखाना इत्यादि जस्ता पेसा तथा कामहरूलाई निम्न दृष्टिकोणले हेरिने यथार्थ हाम्रो समाजमा विद्यमान छ ।
सामान्यतया यदि कसैले सजिलो खालको कार्य गर्दछ भने त्यसलाई राम्रो पेसा मानिन्छ तर अप्ठ्यारो अर्थात् शारीरिक श्रम बढी हुने कार्यलाई नराम्रो मानिने साँघुरो दृष्टिकोण अझ पनि हाम्रो समाजमा व्याप्त छ । कुनै व्यक्तिसँग पहिलोपटक भेट हुँदा उसले के काम गर्दछ भन्ने प्रश्न हाम्रो समाजमा मुख्य चासोको विषय मानिन्छ । अनि उसले गर्ने काम तथा पेसाका आधारमा ऊप्रतिको दृष्टिकोण तथा सम्मानको तह निर्धारण गरिन्छ । तर, उसले उक्त काम कसरी गर्छ ? कति मिहिनेत तथा इमानदारीका साथ गर्छ भन्ने कुराको त्यति चासो राखिन्न ।
मानौँ, कुनै सार्वजनिकस्थलमा बाटो खन्ने कार्य भइरहेको छ, पसिना चुहाई बाटो खन्नेहरूलाई भन्दा अनावश्यक गफ गरेर बसिरहेका नाइकेहरूलाई ठूलो मान्छेको दर्जा दिइन्छ, सम्मान गरिन्छ, जसले गर्दा पसिनाको मूल्य नगन्य हुन जान्छ । सोही कारण नेता बन्ने, कुर्सीमा बस्ने तँछाडमछाडको परिपाटीको विकास हुँदा मिहिनेत गर्नेहरू निरुत्साहित भई ठगी तथा भ्रष्टाचार मौलाउँछ । उत्पादनशीलतामा कमी आउँछ, विकासको गति कमजोर हुन्छ । हाम्रो समाज यही कुसंस्कृतिले ग्रसित छ । त्यसैले विकासमा पछाडि परेको छ ।
तर, विकसित समाजको संस्कृतिले यस्तो भन्दैन । पश्चिमेली विद्वान् इडविनले दाबीका साथ भनेका छन्, ‘तपाईंको श्रमको सम्मान तपाईंले के काम गर्नुहुन्छमा होइन, तपाईंले त्यो काम कसरी गर्नुहुन्छमा हुन्छ ।’ यसले श्रमको मूल्याङ्कन व्यक्तिको कार्यशैली, इमानदारी, कार्यदक्षता तथा प्रभावकारिताका आधारमा गरिनुपर्छ भन्ने देखाउँछ । श्रमको सम्मान भनेको मिहिनेतको सम्मान हो, पसिनाको सम्मान हो, इमानदारीको सम्मान हो, कार्यदक्षता, प्रभावकारिता अथवा सीपको सम्मान हो ।
मार्टिन लुथरकिङ जुनियर भन्छन्, ‘कुनै काम सानो या ठूलो हुँदैन, जसले मानव र मानवताको हित गर्छ त्यसको समान महत्त्व हुन्छ र त्यसलाई सम्मान गरिनुपर्छ ।’
विकसित देशहरूमा के काम गर्नुहुन्छ भनेर सोधिँदैन । बरु कुन ठाउँमा कति घण्टा काम गर्नुहुन्छ भनेर सोधिन्छ । यसले हाम्रो र उनीहरूको पेसाप्रतिको दृष्टिकोणमा भिन्नता देखाउँछ । कसले के पेसा/नोकरी गर्छ ? हाम्रो चासो यसैमा छ । हामी यसैबाट प्रशिक्षित छौँ । कसले कति इमानदारी र प्रभावकारी काम गर्छ, यसमा हामी चासो दिँदैनौँ ।
विकसित देश र हाम्रोमा श्रमप्रतिको दृष्टिकोणमा ठूलो भिन्नता देखिन्छ । अमेरिकामा भवन निर्माण, विद्युत् तथा धारा जडान मर्मत, घर पेन्टिङ, ढल सरसफाइ आदिजस्ता शारीरिक श्रमजन्य कार्यहरूमा अन्य कार्य (जस्तै; पसलमा सामान बेच्ने, निरीक्षण गर्ने)मा भन्दा दशगुणासम्म बढी पारिश्रमिक दिइन्छ । यसले जति बढी श्रम, त्यति नै सम्मान भन्ने बुझिन्छ । शारीरिक श्रम गर्नेहरूको आम्दानी पनि बढी हुन्छ । उनीहरूको जीवनस्तर तथा जीवनशैली पनि राम्रो हुन्छ ।
हामीकहाँ पसिना बगाई शारीरिक जोखिम मोलेर काम गर्नेहरूको पारिश्रमिक न्यून हुन्छ । उनीहरूलाई समाजमा हेयका दृष्टिले हेरिन्छ । उनीहरूको जीवनस्तर पनि कठिन हुन्छ । तर, शारीरिक श्रमको काम नगर्ने र कार्यालयमा दिनभर खुट्टा हल्लाएर बस्नेहरूको पारिश्रमिक तथा सम्मान बढी हुन्छ, जीवनशैली पनि आरामदायी हुन्छ । यसले परिश्रम गर्नेहरूमा निराशा पैदा गर्छ । विदेश पलायन हुने क्रम बढ्नुको प्रमुख कारण यो पनि हो ।
हामीकहाँ ठूलो भएपछि डाक्टर, इन्जिनियर बन्नुपर्छ भनेर बालबालिकालाई रटाइने गरिन्छ । यीबाहेक अरु त पेसा/व्यवसायलाई उपेक्षाका दृष्टिले हेरिन्छ । व्यक्तिगत क्षमता, रुचि तथा आवश्यकता एकतिर पन्छाएर डाक्टर, इन्जिनियर बन्ने बनाउने होडवाजी हामीकहाँ व्याप्त छ, जसले अस्वस्थ प्रतिस्पर्धा, शिक्षामा व्यापारीकरण र भ्रष्टचार निम्ताएको यथार्थलाई नकार्न सकिँदैन । यसको सबभन्दा घातक पक्ष अन्य पेसाप्रति निम्न दृष्टिकोणको विकास भई व्यावसायिक सीपमूलक, कृषिजन्य र घरेलु व्यवसाय तथा पेसाहरू ओझेलमा परेका छन् ।
उच्च र निम्न जात तथा वर्णका आधारमा पेसा विभाजन गरिँदा कुनै पनि पेसालाई हेर्ने दृष्टिकोणमा भिन्नता पाइन्छ । कुनै पैसावाल ब्राह्मणको छोरोले मरेका र मारिएका जनावरहरूको छाला जम्मा गरेर व्यवस्थित रूपमा प्रशोधन गरी स्तरीय छाला उत्पादन गरेर अन्य मुलुकमा निर्यात गर्ने सोच किन बनाउँदैन ? यो सोचलाई कुन कुराले रोकेको छ ? यस्तो सोचको विकास हाम्रो समाजमा कहिले होला ?
कडा परिश्रम चाहिने र जोखिमपूर्ण पेसा तथा काम कथित् तल्लो जातिको भागमा जन्मजात रूपमा पर्नु, उनीहरूको कामलाई तुच्छ दृष्टिकोणले हेरिनुमा हाम्रो श्रमलाई हेर्ने दृष्टिकोण जिम्मेवार छ । हाम्रो परम्परा, अन्धविश्वास, शिक्षा प्रणाली पनि यसमा जिम्मेवार छ । जुन काममा बढी पसिना बगाउनुपर्छ, त्यही कामलाई अपमान गर्नु श्रमको अपमान हो । यसले सीप विकास तथा व्यावसायिकतालाई निरुत्साहित गर्छ, उत्पादनमा कमी ल्याउँछ र विकासको गति रोक्छ ।
जापान, चीन अमेरिका जस्ता देशहरू त्यहाँको जनशक्तिको बलमा उच्च विकास भएका हुन् । अमेरिकाका प्रसिद्ध कूटनीतिज्ञ ग्रोभर क्लेभल्यान्ड भन्छन्, ‘अमेरिकाको समृद्धिको मूल मर्म साँचो श्रमको पहिचान तथा सम्मानद्वारा इमानदारीका साथ पसिना बगाउनेहरूको आत्मसम्मानको वृद्धि गर्ने हुनुपर्छ ।’ त्यस्तै जापानमा जनशक्तिलाई नै धन मान्ने गरिन्छ ।
सन् १९४९ मा चीनले स्वतन्त्र भएपछि परिश्रममा विश्वास गर्ने, कामदारलाई सम्मान गर्ने श्रमको आदर गर्ने कुराहरूलाई शिक्षाको मूल उद्देश्यमा समाहित गरी कडाइका साथ कार्यान्वयनमा ल्याएको पाइन्छ ।
शिक्षालाई वैज्ञानिक, कार्यमूलक र उत्पादनमुखी बनाउन सकिए काममा विश्वास गर्ने परिपाटीको विकास भई समाजमा मिहिनेत तथा श्रम गर्ने र श्रमलाई सम्मान गर्ने परिपाटीको विकास हुन सक्छ । जसले उत्पादनमुखी क्रियाकलापहरू बढेर विकासले गति लिन सक्छ । हरेक पेसालाई सम्मानित बनाउन तालिमको व्यवस्था गर्नु, उपयुक्त नीति नियम बनाउनु, लाइसेन्सको व्यवस्था गर्नु, बालबालिकालाई कार्यस्थलमा लगी प्रयोगात्मक कक्षा सञ्चालन गर्नुजस्ता रणनीतिहरू अपनाए श्रमको सम्मान गर्ने संस्कृतिको विकास भई उत्पादनमुखी र विकासमुखी समाजको स्थापना हुने थियो कि ?
– भट्टराई त्रिविका उपप्रध्यापक हुन् ।
शिलापत्रबाट
लेखकको सम्वन्धमा