नेपालकै पहिलो र नमूना ढुवानीग्राम बुटवल जाने सडकमा स्थानीयकाे अबरोध
बुटवल । सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालन भैरहेको नेपालकै पहिलो र नमूना ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेका छन् । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा रहेको ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेपछि व्यवसायीहरु अन्यौलमा परेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत नयाँगाउँदेखि करिब ३ दशमलव ६ किलोमिटर दक्षिणतर्फ रहेको ढुवाग्राममा पुग्ने सडक किनारका बासिन्दाहरुले ढुवानीका गाडी गुड्न रोक लगाएका हुन् । ढुवानीका गाडीहरुले चर्को आवाज निकाल्ने, स्थानीयलाई ध्वनी प्रदुषण तथा वायु प्रदुषण हुने, कुनै पनि बेला अकल्पनीय सडक दुर्घटना हुन सक्ने लगायतका कारण देखाउँदै स्थानीयले ‘संगमपथ सुधार समिति’ गठन गरेर आवागमन ठप्प पारेपछि ढुवानीग्राम बन्द हुने स्थितीमा पुगेको छ ।
संगमपथ सुधार समितिका संयोजक डम्मरदेव अर्यालले कुनै पनि हालतमा ढुवानीग्रामसम्म पुग्नका लागि आफ्नो टोलको सडक प्रयोग गर्न नदिने उल्लेख गरे । बुटवल उपमहानगरले आफ्नो प्रतिवद्धता अनुसार काम नगरेको, ढुवानी ग्रामका लागि वैकल्पिक सडकको व्यवस्था नगरेको लगायतका कारण देखाउँदै आर्यालले आफूहरुले सडक प्रयोग गर्न नदिने अडान लिए ।
टोल सुधार समितिले सडकमा चेतावनी पूर्ण व्यानरनै टाँसेर अटेर गरे सम्पूर्ण क्षतिको जिम्मेवारी गाडीधनी वा चालकले लिनुपर्ने भन्दै त्रसित पारेपछि व्यवसायीहरु अन्यौलमा परेका छन् । नयाँगाउँ चोकदेखि दक्षिणतर्फ बेलभरिया पुलसम्मको सडक कुनैपनि हालतमा ढुवानीका सवारीका लागि प्रयोग गर्न नदिने स्थानीयको अडानले तत्काल कुनै पनि विकल्प नभएपछि ढुवानीग्राम बन्द हुने स्थितीमा पुगेको हो ।
काठमाडौं, पोखरा लगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका शहरहरुमा सामान पुर्याउने स्टेशनको रुपमा रहेको ढुवानीग्राम बन्दहुँदा देशभरको सेवा प्रभावित हुने व्यवसायी कमल घिमिरे बताउँछन् ।
ढुवानीग्राम बन्द हुँदा निजी क्षेत्र तथा राज्यले समेत ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने उनले बताए । ढुवानीग्राम पुग्ने सडक प्रयोग गर्दा स्थानीयले अबरोध गर्ने, ढुङ्गा मुढा लिएर बस्ने लगायतका क्रियाकलाप हुन थालेपछि आफूहरुले असुरक्षित ठानेर सेवा बन्द गर्नुपरेको घिमिरेले बताए ।
ढुवानी ग्रामको प्रयोग गरे बापत व्यवसायीहरुले मासिक डेढ लाख बढी राश्व बुटवल उपमहानगरलाई बुझाउँदै आएको उनले बताए । उपमहानगरसँग विकल्पका लागि पटक–पटक छलफल गर्दा पनि निष्कर्श निस्कन नसकेको उनले बताए ।
सार्वजनिक–निजी साझेदारीको करिब ३७ करोड लागतमा ढुवानीग्राम निर्माण भएको हो । सार्वजनिक–निजी क्षेत्र साझेदारीको योजनाअनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा बुटवल उपमहानगरले ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको थियो । व्यस्त सहरी क्षेत्रमा हेवीलोडका सवारीसाधनलाई छिर्न नपर्ने र ट्राफिक अवस्था व्यवस्थित गर्न अलग्गै ढुवानी ग्राम बनाएको हो ।
उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँचमार्ग, ढल तथा नाली निर्माण गरेको छ । थप वाइपास सडक निर्माण गरेर दानव नदी करिडोरमा जोड्ने तयारी भए पनि करिडोरनै नबनेकाले उक्त विकल्प अहिले उपलब्ध छैन ।
लेखकको सम्वन्धमा